काठमाडौं । पछिल्लो ११ महिनामा १० लाख ७७ हजार ६४१ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको सन् २०२४ को अगस्टदेखि सन् २०२५ जुनसम्मको तथ्यांक अनुसार यी संख्यामा विदेशी पर्यटक नेपालका आएका हुन् । नेपाल पर्यटन बोर्ड अनुसन्धान विभागका वरिष्ठ अधिकृत अविन्द्र भट्टले सन् २०२५ को जनवरीदेखि जुनसम्म मात्र पाँच लाख ७७ हजार ६८९ जना पर्यटक नेपाल भित्रिएको जानकारी दिए । गत वर्षको यो अवधिमा पाँच लाख ८३ हजार पर्यटक नेपाल आएका थिए । अर्थात्, गत वर्षको तुलनामा पर्यटक आवागमनमा खासै बदलाव भने भएको देखिएन ।
यो वर्षको जुन महिनामा मात्रै ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् । बोर्डको तथ्यांकअनुसार २०२५ को जनवरीदेखि जुनसम्म दक्षिण एसियाका दुई लाख तीन हजार २४२ पर्यटक नेपाल आएका छन् । त्यस्तै, एसियाबाट एक लाख ३२ हजार ७५०, युरोपबाट एक लाख २ हजार ५२४, ओसियानाबाट २४ हजार १६९, अमेरिकाबाट ७० हजार ४५६, मध्यपूर्वी राष्ट्रबाट १० हजार एक सय २५, अफ्रिकाबाट २०५२ र अन्य राष्ट्रबाट ३२ हजार ३७१ पर्यटक नेपाल आएको वरिष्ठ अधिकृत अविन्द्र भट्टले जनाए ।
नेपाल पर्यटन बोर्ड : २५औं वर्षगाँठसँगै जोडिएको स्थापना कथा
नेपाल आउने धेरै पर्यटकमा दक्षिण एसियालीको संख्या अन्यको भन्दा धेरै छ । जसमध्ये पनि भारतका पर्यटक धेरै रहेका छन् । त्यस्तै, २०२४ को सोही अवधिमा पनि दक्षिण एसियाकै पर्यटक धेरै नेपाल आएका थिए ।
बोर्डको तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल आएका थिए ।
अघिल्ला वर्षहरूको तथ्यांक हेर्दा सन् २०२३ मा दश लाख १४ हजार ८८२, २०२२ मा ६ लाख १४ हजार ८६९, २०२१ मा १ लाख ५० हजार ९६२ र २०२० दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारीको प्रभावले २०२० देखि २०२२ सम्म पर्यटक आवागमनमा निकै असर परेको तथ्यांकले देखाउँछ ।
नेपालमा कति खर्च गर्छन् पर्यटक ?
सन् २०२४/२५ को पछिल्ला ११ महिनामा ८२ अर्ब १९ करोड ८६ लाख रुपैयाँ विदेशी पर्यटकले नेपालमा खर्च गरेका छन् ।
बोर्डका अनुसार पर्यटकले नेपालमा प्रतिदिन औसतमा ४८ डलर(६,४३२) खर्च गर्छन् । बोर्डको पछिल्लो १० वर्षको तथ्यांक हेर्दा पर्यटकको औसत बसाइँ १२ देखि १५ दिनसम्म मात्रै रहेको छ ।
छुट्टी मनाउन आउँछन् धेरै पर्यटक
त्यस्तै, ट्रेकिङ र माउन्टेनिङमा १ लाख ६६ हजार ३९४ (१४.५० प्रतिशत), तीर्थयात्राका लागि १ लाख ७५ हजार ५७५ (१५.३० प्रतिशत) र अन्यमा एक लाख १२ हजार ४६० (९.८० प्रतिशत) पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ ।
त्यस्तै, सन् २०२३ मा पनि ६२.५ प्रतिशत पर्यटक छुट्टी मनाउन नेपाल आएको देखिन्छ भने ट्रेकिङ र माउन्टेनिङमा १५.२ प्रतिशत, तीर्थयात्राको लागि १३.१ प्रतिशत र अन्यमा ९.२ प्रतिशत पर्यटक नेपाल आएका थिए ।
वरिष्ठ अधिकृत भट्ट भन्छन्, ‘२०१७ भन्दा अगाडिका वर्षहरूमा विजनेस र अफिसियल कामका लागि पनि विदेशी नेपाल आउने गर्थे । तर, २०१७ देखि यता यी क्याटागोरीमा पर्यटक आएका छैनन् ।’ समग्रमा हेर्दा बर्सेनि छुट्टी मनाउन धेरै पर्यटक नेपाल आउने गरेको देखिन्छ ।
प्रतिस्पर्धामा खुलिरहेका छन् तारे होटेल
पर्यटन विभागको तथ्यांकअनुसार पछिल्लो ११ महिनामा २० वटा तारे होटलहरू खुलेका छन् । जुन होटलहरूमा कूल एक हजार ४२२ वटा कोठा छन् ।
यो अवधिमा ६ वटा पाँचतारे होटेल खुलेका छन् भने चारतारे ४ वटा, दुईतारे १, एकतारे १, डिलक्स रिसोर्ट ३ वटा, साधारण रिसोर्ट ४ वटा र पाँचतारे डिलक्स स्तर एक होटेल खुलेको पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीले बताए ।
गत आर्थिक वर्षको सोही अवधिमा २६ वटा तारे होटलहरू खुलेका थिए भने आव २०७९/८० मा २२ वटा, आव २०७८/७९मा ३० वटा र आव २०७७/०७८ १६ वटा तारे होटलहरू खुलेका थिए ।
नेपालका होटलहरूको क्षमताअनुसारको पर्यटक आएनन्
होटेल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह नेपालका होटलहरूको क्षमताअनुसार पर्यटक आउन नसकेको बताउँछन् । पर्यटन प्रवर्धनका लागि सरकारसँग स्पष्ट कार्यविधि नभएकाले पर्यटन क्षेत्रको क्षमताअनुसारको लाभ उठाउन नसकिरहेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय विमानस्थलहरू व्यवस्थित नहुनु र राजमार्ग/सडकहरूको निर्माण कार्य समयमै सम्पन्न नहुने जस्ता कार्यले सम्भावित पर्यटक आवागमनमा धक्का लागेको अध्यक्ष शाहले बताए । उनी भन्छन्, ‘हामी वार्षिक ३०/३५ लाख पर्यटक मजाले राख्न सक्छौँ, तर वार्षिक ११/१२ लाख मात्रै आउँछन् । हाम्रो क्षमता त विकास भएको छ तर पूर्वाधार विकासमा पनि सरकारले ध्यान दिन आवश्यक छ ।’ यद्यपि, हरेक महिना जसो नेपालमा तारे होटलहरू खुल्न थाल्नु पर्यटन प्रवर्धनको संकेत रहेको उनको भनाइ छ ।




