जस्ट फ्युचर्स पहल (जेएफपी)ले बागमती प्रदेशका सात जना प्रतिभाशाली युवा दलित महिलालाई जस्ट फ्युचर्स फेलोसिप (बहिन–वृत्ति) प्रदान गर्ने निर्णय गरेको छ । आगामी अगस्टदेखि १२ महिनासम्म सञ्चालन हुने यस फेलोसिपका लागि छानिएकाहरू प्रतिभाशाली युवा दलित महिला रहेका जेएफपीले जनाएको छ । फेलोसिपका लागि सरिना द्योला, मंजिता परियार, प्रमिला बिक, कंचन कटुवाल, राधिका रोका, मनिका विश्वकर्मा र संगिता मिजार छनौट भएका छन् ।
जस्ट फ्युचर्स पहल कार्यकारी निर्देशक सोना खटिकका अनुसार, ‘आफ्ना कथा आफै बुन्छौं’ (जिमिगु बाखं जिमिसं हे ग्वये) भन्ने मूल मर्म बोकेर सार्वजनिक आह्वानअनुसार आवेदन दिएका २ सय १ जनामध्ये सर्ट लिस्टमा परेका १६ बीच प्रतिस्पर्धाबीच ७ जना प्रतिभाशाली दलित महिला छानिएका हुन् ।
बागमती प्रदेशमा स्थायी बसोबास गर्ने २० देखि ४० वर्षका दलित महिला, दलित यौनिक तथा लैंगिक अल्पसंख्यकमध्ये आफूलाई महिलाको रूपमा पहिचान गर्ने व्यक्ति तथा नेवाः दलित महिलालाई आवेदनका लागि आह्वान गरिएको थियो । दामल फेलो र जस्ट फ्युचर्स फेलो मधु महरा, पूर्वसांसद तथा दामल फेलो\फ्याकल्टी अन्जना विशंखे तथा त्रिभुवन विश्वविद्यालयसँग आबद्ध मानवशास्त्री डा. मुक्तसिंह लामाले लिएको अन्तर्वार्ताका आधारमा जेएफपीको संचालक समितिले उनीहरूलाई छनौट गरेको बताइएको छ ।
यस फेलोसिपमा पत्रकारिता र लेखनदेखि लिएर शिक्षण र राजनीतिक जीवनसम्ममा सक्रिय रहेका नयाँ फेलोहरूले पहिले आफ्ना व्यक्तिगत र सामाजिक जीवनका भोगाइबारे अध्ययन गर्नेछन् अनि जात, वर्ग, लैंगिकता र यौनिकताबारे बुनिएका भाष्य, ज्ञान र कल्पनाबारे समालोचनात्मक रुपले वैचारिक मन्थन गर्नेछन् । अन्तर–विषयको सह–सिकाइमा आधारित यस फेलोसिपमा सेमिनार र संवादमार्फत् गहन लेखनसँगै रचनात्मक कार्य गर्न प्रेरित गरिनेछ ।




