कालिका/कालिका नगरपालिका वडा नं. ६ द्वारा सञ्चालित ४५ दिने आधारभूत व्यूटी पार्लर तालिमको समापन समारोहमा नगर प्रमुख विनोद रेग्मीले सहभागी महिलाहरूलाई आत्मनिर्भर बन्न र उद्यमशीलताको बाटोमा अघि बढ्न प्रेरणादायी सन्देश दिएका छन । रेग्मीले तालिममा सहभागी महिला दिदीबहिनीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै तालिमबाट प्राप्त सीपलाई परिमार्जन गरी व्यवसायिक अवसरमा बदल्न जोड दिनुभयो ।
“यो तालिमले तपाईंहरूलाई उपयुक्त श्रृंगारको कला मात्र होइन, समाजमा सभ्य र आत्मविश्वासी नागरिकको रूपमा स्थापित हुन पनि सघाउनेछ,” उहाँले भन्नुभयो । “मलाई विश्वास छ, यहाँ सिकेका सीपले तपाईंहरू उत्पादनमूलक कार्यमा सफल हुनुहुनेछ, र तपाईंहरूको सफलताको कथा सुन्न पाइयोस्,” ।उनले थप्दै सहभागीहरूको उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गरे ।
कालिका नगरपालिकाको समन्वयमा आयोजित यो तालिमले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन र उद्यमशीलताको भावना जागृत गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ । नगर प्रमुख रेग्मीको प्रेरणादायी नेतृत्व र सन्देशले सहभागीहरूमा नयाँ जोश र आत्मविश्वास थपिएको छ । तालिममा सहभागी महिलाहरूले सिकेका सीपलाई व्यवहारमा उतार्दै व्यवसायिक सफलता हासिल गर्ने प्रतिबद्धता जनाएका छन् ।




