मधेश प्रदेश सरकारले ‘प्रदेश ब्राण्ड रुख’ घोषणा गर्ने तयारी गरेको छ । त्यसका लागि मधेश सरकारले कार्यदल बनाएको थियो । आइतबार उक्त कार्यालयले वन तथा वातावरण मन्त्रालयलमा प्रतिवेदन बुझाएको छ । मन्त्रालयले करिब एक महिनाअघि प्रदेशको ब्राण्ड रुख छनोटको लागि वन अधिकृत सुरेश शर्माको संयोजकत्वकमा तीन सदस्य कार्यदल गठन गरेको थियो । समितिले आवश्यक अध्ययन, अनुसन्धान र सरोकारवालाहरूसँग सुझाव संकलन गर्नुका साथै वनविज्ञ, वातावरणविद्, समाजशास्त्री तथा प्रदेशका ८ वटै जिल्लाका वन तथा भू संरक्षण कार्यालय प्रमुखहरूसँग राय सुझाव संकलन गरेको थियो ।
संयोजक शर्माका अनुसार प्रदेशमा पाइने पिपल, वर, निम, साल, इमली, सतिसाल, हर्रो, बर्रो, अमला, क्षतिवन, सिमलसहितका रुखहरूको प्रजाति, धार्मिक/सांस्कृतिक महत्त्व, वातावरणमा पार्ने प्रभाव, भौगोलिक अवस्था, आर्थिक अवस्था तथा बजार भाउ, संरक्षणको अवस्थासहितको विषयमा छलफल भएको थियो । छलफलमा राखिएका रुखहरूमध्ये पहिलो नम्बरम पिपल, दोस्रोमा वर र तेस्रोमा नीमको रुख रुचाइएको थियो ।
‘सोहीअनुसार हामीले पिलपलको रुख पहिलो नम्बरमा, वरको रुख दोस्रो र नीमको रुख तेस्रो नम्बरमा राखेर प्रतिवेदन वन तथा वातावरणमा बुझाएका छौँ,’ शर्माले भने, ‘हामीले सिफारिस गरेका रुखमध्ये कुनै एक रुखलाई प्रदेश सरकारको मन्त्रिपरिषदले प्रदेश ब्रण्ड रुखको औपचारिक घोषणा गर्छ ।’
कुनै एक वृक्षलाई धार्मिक सांस्कृतिक, ऐतिहासिक, वातावरणीय प्रभाव र सामाजिक महत्त्वका साथै पहिचानसँग जोडिएको रुखलाई कुनै देश वा प्रदेशको ब्राण्ड रुख घोषणा गर्ने अभ्यास रहेको शर्माले बताए । ‘प्रदेशको जैविक विविधता र स्थानीय जनजीवनसँग घनिष्ठ सम्बन्ध भएको वृक्षलाई नै ब्राण्ड रुख बनाउनुपर्ने सोचका साथ हामीले वैज्ञानिक आधार र जनसहभागिता दुवैलाई महत्त्व दिएर पिपल, वर र निम गरी तीन वटा वृक्षको नाम सिफारिस गरेका हौँ,’ उनले भने ।
रुखलाई क्षेत्रीय पहिचानका रूपमा प्रस्तुत गर्दा वातावरणीय चेतना र संरक्षणमा टेवा पुग्नुका साथै सरकारलाई वृक्षको संरक्षण, संवर्द्धन र अनुसन्धानमा मद्दत पुग्ने उनको भनाइ छ । ‘कुनै वृक्षलाई ब्राण्डको रूपमा घोषणा गर्दा त्यसले ती रुखप्रति सर्वसधारणको आत्मीयता बढ्ने, त्यसको संरक्षणमा सरकारले लगानी गर्ने तथ वातावरणीय जनचेतना अभिवृद्धि हुन्छ,’ उनी भन्छन् ।
नेपालमा अहिलेसम्म कुनै रुखलाई औपचारिक रूपमा राष्ट्रिय रुख घोषणा गरिएको छैन । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक मधेश सरकारले प्रदेशको ब्राण्ड रुख घोषणा गर्न लागेको हो । भारतले ‘वर’लाई राष्ट्रिय रुख घोषणा गरेको छ । त्यस्तै, अमेरिकाले ओक रुख, चिनले जिइगो, बंगलदेशले आँप, पाकिस्तानले देवदार, बेलायतले ओक रुखलाई राष्ट्रिय रुख घोषणा गरेका छन् । त्यस्तै, भारतका राज्य सरकारहरूले पनि प्रदेश रुख घोषणा गरेका हुन् । भारतको आंध्र प्रदेशले निम, अरुणाचलले हाँलोग, असमले हाँलोग, बिहारले र हरियाणाले पिपल, उत्तर प्रदेशले अशोक, पश्चिम बंगालले चितौन, पन्जाबले शिसम, राजस्थानले खजडीलाई प्रदेश ब्राण्ड रुख घोषणा गरेका छन् ।




