चितवन/गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम् रत्ननगर १ निपनी चितवनको आयोजनामा द्विदिवसीय संस्कृत भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । वागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग रहेको कार्यक्रममा चितवन जिल्लाका संस्कृत गुरुकुल एवं संस्कृत माविका विद्यार्थीको सहभागिता रहेको छ । संस्कृत भाषाको व्यावहारिक प्रयोगलाई सहज बनाउने उद्देश्यले संस्कृत भाषा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको गुरुकुलम् का प्राचार्य सुभाष चालिसेले जानकारी दिनुभयो ।
संस्कृत भाषाका विशिष्टतालाई विश्वसामु चिनाउन सक्ने हो भने संस्कृत भाषा विश्वभाषा बन्नसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको उद्घाटन सत्र रत्ननगर नगरपालिका वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले वडाले गुरुकुलम् लाई निरन्तर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

गुरुकुलम् व्यवस्थापन समिति अध्यक्ष सोमप्रसाद भट्टको अध्यक्षता रहेको कार्यक्रममा रनपा १ का वडा सदस्य सूर्यलाल श्रेष्ठ, गायत्री हरिहर मन्दिर संरक्षण समिति अध्यक्ष नीलकण्ठ पौडेल, संरक्षक नेमराज शर्मा पौडेल, वरिष्ठ उपाध्यक्ष शंकर गिरी, गुठदाता नगिया थरुनी लगायतको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा गुरुकुलम् सञ्चालक समिति सदस्य सरला सुवेदी र मन्दिर अध्यक्ष नीलकण्ठ शर्मा पौडेल, मन्दिर संरक्षक नेमराज शर्माले शुभशामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको प्रशिक्षकमा गायत्री गुरुकुलम् का सहप्रधानाचार्य संगम पौडेल र श्रीराम वैदिक संस्कृत गुरुकुलम् का आचार्य सुदीप पौडेल रहनुभएको छ । कार्यक्रमको उद्घाटन सत्रलाई समापन गर्दै गुरुकुलम् अध्यक्ष सोमप्रसाद भट्टले संस्कृत भाषाको विकास भएमात्र सनातन संस्कृति सबल हुने बताउनुभयो । प्रशिक्षण कार्यक्रममा चितवनका बिभिन्न गुरुकुलका सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रम बिहीवार र शुक्रवार दुई दिन चल्ने छ ।




