काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन आग्रह गर्नुभएको छ । प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग मन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रुपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै जनस्तरबाट पनि मनाउन जोड दिनुुभएको हो ।
नेपाल सरकारले यही जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीकाे अध्यक्षताका मूल आयोजक समिति गठन गरेको छ । “गणतन्त्र दिवस, जनताको दिवस हो । यसलाई जातजातिगत विविध बाजागाजा र झाँकीसहित हरेक ठाउँबाट उत्सवका रुपमा मनाउनुुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा हामी छौँ र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बीचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुुपर्दछ ।’’ एमालेको सचिवालयको बैठकले यही गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकीसहित मनाउने निर्णय गरेको थियो ।




