भरतपुर/सीप सिकौं, स्वरोजगार बनौं भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय, चितवनको आयोजना र बागमती प्रदेश उद्योग परिसंघ, महिला समितिको सहकार्यमा हस्तकला सम्बन्धि ड्रिम केचर तथा सजावट सामाग्री निर्माण सम्बन्धि १० दिने तालिम तथा ढाका कपडा बुनाई सम्बन्धि १ महिने तालिमको शुभारम्भ गरिएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय चितवनका कार्यालय प्रमुखको अध्यक्षतामा सम्पन्न कार्यक्रम उद्योग, वाणिज्य, भूमि व्यवस्था तथा प्रशासन मन्त्री सुकमाया तामाङ्ग प्रमुख अतिथि रहनुभएको थियो ।
बागमती प्रदेश उद्योग परिसंघ, महिला समितिकी अध्यक्ष चन्दना कोइरालाले स्वागत गर्नुभएको तालिम शुभारम्भ कार्यक्रमकी प्रमुख अतिथि उद्योग, वाणिज्य, भूमि व्यवस्था तथा प्रशासन मन्त्री सुकमाया तामाङ्गले तालिम लिएर स्वदेशमै केही गर्छु भन्नेहरुको लागि विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गर्दै तालिम प्रदान गरिरहेको र केही व्यक्तिहरुले तालिमको सही सदुपयोग नगरेको बताउनुभयो । मन्त्री तामाङ्गले मन्त्रालयले प्रदान गरेका तालिमहरुको रेकर्ड तयार गरी अबका दिनहरुमा वास्तविक तालिम लिन चाहनेहरुलाई प्राथमिकतामा राखिने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य उत्तम जोशीले तीनै तहका सरकारहरुबाट विभिन्न क्षेत्रमा हुने तालिमहरुलाई अझै सुक्ष्म ढङ्गले अध्ययन देशमै रोजगारी सृजना गर्नको लागि उचित वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै भरतपुर महानगरपालिका वडा नं.१० का वडा अध्यक्ष पमेश्वर खनालले राज्यको नीतिमा सुधार ल्याउनको लागि विधि, थिति र नीतिलाई सँगसँगै मिलाएर लैजानु पर्ने बताउनुभयो ।
त्यस्तै बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले तालिमका सहभागीहरुलाई आफूले सिकेका सीपलाई व्यवहारमा उतारी आफ्नो दैनिक जीवनमा उपयोग गर्न समेत अनुरोध गर्नुभयो ।
त्यसैगरी चितवन उद्योग संघका कार्य वाहक अध्यक्ष मदन घिमिरेले तालिममा अनुशासन, धैर्यता भएर पूर्ण लाभ लिनको लागि सहभागीहरुलाई अनुरोध समेत गर्नुभयो ।
उद्योग तथा वाणिज्य कार्यालय चितवनकी कर्मचारी रञ्जु भट्टले सञ्चालन गर्नुभएको तालिम शुभारम्भ कार्यक्रमलाई उद्योग तथा वाणिज्य कार्यालय चितवन प्रमुख विनोद पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

Advertisement




