भरतपुर/“औद्योगिक सहकार्यका लागि सहकारी” भन्ने मूल मर्मका साथ चितवन उद्योग संघका सदस्य उद्योग, उद्योगका सञ्चालक र एकाघर परिवारका व्यक्तिहरु मात्र सदस्य बन्न पाउने गरी विशेष सहकारीको रुपमा वि.सं. २०७० साल बैशाख १९ गते स्थापना भएको यस चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ स्थापना दिवसको अवसरमा गामवेशीको चेपाङ संरक्षण केन्द्र रत्ननगर चितवनलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको छ ।
चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का कार्य वाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा सम्पन्न खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का पूर्व अध्यक्ष भेषराज दुवाडी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि दुवाडीले साकोसले आफ्नो स्थापना दिवसको अवसरमा केन्द्रको संरक्षण रहेका वालवालिकाहरु सहयोग गरेर सामाजिक उत्तरदायित्व वहन हुने कार्य गरेकोमा प्रशंसा गर्नुभयो । दुवाडीले आगामि दिनहरुमा समेत साकोसले सामाजिक क्षेत्रमा आफ्ना कार्यलाई अगाडि बढाउँदै लैजानु पर्ने समेत बताउनुभयो ।
गामवेशीको चेपाङ संरक्षण केन्द्र रत्ननगर चितवनका संरक्षक केपी किरण शर्माले संस्थाको विगत र वर्तमानका साथै आश्रित वालवालिकाहरुको शैक्षिक अवस्था र स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । केन्द्रमा एकसय ५० बढी वालवालिकाहरु आश्रित रहेका छन् ।
चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का कार्य वाहक अध्यक्ष मदन घिमिरेले स्वागतसँगै औद्योगिक साकोसको स्थापनाकालदेखि हालसम्म भएका गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।





