सुर्खेत/उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा २०७७ जेठ १० गते भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको फैसला सदर गरेको छ। न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले २३ जनाको जन्मकैद सदर गर्दै जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेको छ ।
रूकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गर्दे जातीय भेदभाव तथा छुवाछुतमा दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो । जसअनुसार उच्चले जातीय भेदभाव र छुवाछुतको फैसला भने बदर गरको हो । उच्च अदालतका उपर–न्यायधिवक्ता प्रेमप्रकाश थापाका अनुसार, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला अदालतले सुनाएको दुई वर्षको कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला भने उल्टाइएको छ ।
पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैद सदर भएकाले फैसलामा आंशिक मात्र उल्टिएको थापाले बताउनुभयो । सोती घटनामा नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको हत्या भएको थियो । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो।




