भरतपुर/स्वास्थ्य तथा शारीरिक शिक्षा जस्तो मानवीय जीवनको अपरिहार्य विषयलाई विकासात्मक मुलुकहरूले पहिलो प्राथमिकतामा राखेर काम गर्दै गर्दा हाम्रो देशमा भने यो विषयलाई विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यक्रमहरूबाट ओझेल पार्दै गर्दा नेपाल स्वास्थ्य शिक्षा संघ (हेन) ले स्वास्थ्य र शिक्षाका क्षेत्र के कस्ता प्रयासहरु अगाडि बढाएको छ भन्ने सन्दर्भमा चितवन जिल्लाका विभिन्न कलेजमा प्राध्यापनरत स्वास्थ्य शिक्षा शिक्षकहरूसँगको छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
स्वास्थ्य तथा शारीरिक शिक्षा विभाग वीरेन्द्र क्याम्पसका डा. श्याम सेडाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पसको रिसर्च सेलमा वीरेन्द्र बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख प्रा.डा. प्रेमसागर भण्डारी प्रमुख अतिथि र नेपाल स्वास्थ्य शिक्षा संघ (हेन) का महासचिब उप प्रा.डा.भगवान अर्याल विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो ।

छलफल कार्यक्रममा वालकुमारी कलेजकी कविता खतिवडा, सप्तगण्डकी बहुमुखी क्याम्पसका कृष्ण घिमिरे, टिका देवकोटा, दिपक बाबु श्रेष्ठ, कन्या कलेजबाट सुनिता सडौला, शर्मिला पण्डित लगायतका शिक्षाविद्हरुको सहभागिता रहेको थियो ।
छलफलमा स्वास्थ्य शिक्षा संघ नेपालको पहलमा छिटै नै यी विषयहरूलाई अनिवार्य विषयको रुपमा विद्यालय तथा कलेजले स्तरीय पाठ्यक्रमहरूमा समावेश गरी अध्ययन अध्यापन गराउने विषयमा छलफल एवम् सम्बन्धि निकायहरुसँग पहलहरू भइरहेको र आगामि दिनहरुमा समेत यसलाई निरन्तरता दिने निष्कर्ष निकालिएको थियो । कार्यक्रमलाई स्वास्थ्य शिक्षा संघ नेपालको केन्द्रीय सदस्य सुरक्षा रेग्मी सापकोटाले संयोजन गर्नुभएको थियो ।




