खैरहनी/राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) चितवनको आयोजनामा खैरहनी नगरपालिकाको खैरहनी माविको सभाहलमा पालिकास्तरीय भेला तथा मानवअधिकार एलाइन्स खैरहनी नगरकमिटी गठन भएको छ । एलाइन्स चितवनका अध्यक्ष किशोर खनालको अध्यक्षतामा भएको भेलाले सात सदस्यीय समिति गठन गरेको छ । समितिको संयोजकमा भुवन पाठक, उपसंयोजकमा सीता आचार्य उप्रेती, सचिवमा रोजिना खातुन, कोषाध्यक्षमा सन्जु गजुरेल निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा सुनिता अधिकारी नेपाल, सीमान्त पाठक र रसुजन उप्रेती निर्वाचित भएका छन् । भेलाका प्रमुख अतिथि नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष कमल पाठकले मानवअधिकारको रक्षामा सदैव उभिन नयाँ कार्यसमितिलाई शुभेच्छा प्रकट गर्नुभएको थियो । ‘खैरहनी नगर कमिटीले वडा तहसम्म मानवअधिकार एलाइन्सको कमिटी बनाउन सक्नुपर्छ, मानवअधिकारको न्यायमा यो समिति सदैव उभिनेछ’ एमाले चितवनका अध्यक्ष पाठकले भन्नुभयो, ‘मानवअधिकार एलाइन्समा युवापुस्ताको आकर्षण बढाउनुपर्छ, त्यस कार्यमा यो कमिटी लाग्नेछ ।’
कार्यक्रमको अध्यक्षता गर्नुभएको मानवअधिकार एलाइन्स चितवनका अध्यक्ष किशोर खनालले खैरहनी नगर कमिटीमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई मानवअधिकारको रक्षार्थ र न्यायमा निरन्तर लाग्न शुभकामना दिनुभएको थियो । मानवअधिकारको क्षेत्रलाई अझ फराकिलो बनाउनु पर्नेमा उहाँको जोड थियो । मानवअधिकार प्रशिक्षक मुकुन्द दाहालले नेपालको मानवअधिकारका क्षेत्रहरुको बारेमा बताउनुभएको थियो । उहाँले मानवअधिकारको विषयमा आवाज उठाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मानवअधिकार एलाइन्स चितवनका उपाध्यक्ष कमला गजुरेलले स्वागत मन्तव्य दिनुभएको थियो । भेलामा खैरहनी नगरपालिकाका उपप्रमुख कविता उप्रेती, बागमती प्रदेश सदस्य कोपिला दवाडी ढकाल, नेकपा एमाले नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटी, एलाइन्स चितवनका पूर्वअध्यक्ष सुनिता थपलियालगायतको विशेष उपस्थिति रहेको थियो । एलाइन्स चितवनका अध्यक्ष किशोर खनालले खैरहनी नगर कमिटी अध्यक्ष भुवन पाठकलाई माइन्यूट हस्तान्रण गर्दै कार्यकालको शुभकामना दिनुभयो । खैरहनी नगर कमिटी संयोजक भुवन पाठकले वडा तहसम्म एलाइन्सको कमिटी बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । मानवअधिकारको क्षेत्रमा लाग्ने ५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।




