भरतपुर/ जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार दिउँसो बसेको बैठकले २० गते लागूहुने गरी बिहान १० बजेदेखि ४ बजेसम्म पसल खुल्ने र भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने निर्णय गरेको छ । निर्णयमा उल्लेख भए अनुसार विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्माण सामाग्रीका पसल, फेन्सी तथा कपडाका पसल, किराना पसललगायतका संचालन गर्न पाइने निर्णय गरेको छ ।
चितवनमा संक्रमण दर अझै बढ्दै गइरहेकोले केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय भएको जनाइएको हो । जिल्लामा अहिले सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ५९४ जना, रत्ननगर नगरपालिकामा ११५ जना, खैरहनी नगरपालिकामा ५३ जना, कालिका नगरपालिकामा १८ जना, राप्ती नगरपालिकामा ९७ जना, माडी नगरपालिकामा ५२ जना र इच्छाकामना गाउँपालिकामा ४ जनामा कोरोना देखिएसँगै जिल्लामा कुल संक्रमितको संख्या ९३३ पुगेको छ ।
जसमध्ये आइसोलेसनमा ७६५, निको भई घर फर्केका १५७ र मृत्यु भएको संख्या ११ रहेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनमा पहिलोपटक साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।





