बुटवल/रुपन्देही उद्योग संघको २० औं नियमित बैठक पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटमा सम्पन्न भएको छ । पूर्वअध्यक्ष, सल्लाहकारहरुसहितको समीक्षात्मक बैठकमा सहभागी पूर्वअध्यक्षहरुले संघको स्थापनाको उद्देश्य, इतिहास सँगै आफना अनुभवहरु सुनाउनुभएको थियो ।
संघका अध्यक्ष दिलिप सापकोटाको अध्यक्षता तथा सचिव सुमन बस्यालको संचालनमा भएको बैठकमा सहभागी सबै पूर्वअध्यक्षहरुले संघको इतिहास, उद्योग क्षेत्रमा अहिले परेका समस्या र समाधानको उपाय, संस्थाको आन्तरिक स्रोत पहिचान तथा सामाजिक क्षेत्रमा संघले गर्नुपर्ने दायित्वको बारेमा सहभागी सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुलाई जानकारी दिनुभएको थियो ।
बैठकमा अध्यक्ष परिषदका अध्यक्ष डम्बरदेव अर्यालले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योग क्षेत्रको विकास अपरिहार्य रहेको बताउँदै संघको स्थापनाबाट यस क्षेत्रका सबै उद्योगीहरुले अभिभावकत्व पार्इरहेको जानकारी दिनुभयो । पञ्चायतीकालको अन्तिम समयमा आफूले संस्थाको नेतृत्व गरेको स्मरण गर्दै त्यो समयका समस्या र अहिलेका समस्याहरु केही फरक परेपनि मूल रुपमा उद्योगीको समस्या समाधानमा पुलको काम र सामाजिक क्षेत्रको अगुवाई नै मुख्य कुराहरु रहेको उहाँको भनाइ थियो । ‘संघले ०३६ साल र ०५१ सालमा गरेका दुई महत्वपूर्ण गोष्ठीले देशभर चर्चा पाएको ईतिहास बतानु् हुँदै राष्ट्रिय पूँजी निर्माणबिना देशमा केही हुँदैन, त्यसको लागि यहाँका उद्योगहरु नै चलाउने वातावरण बनाउनुपर्दछ उद्योगीहरु भएको सम्पत्ति बेचेर भाग्नुपर्ने अवस्थामा छन् यो समयमा यस्ता संस्थाको निकै महत्वपूर्ण जिम्मेवारी रहन्छ वहाँले भन्नुभयो ।

संघका पूर्वअध्यक्ष महेन्द्रनारायण श्रेष्ठले धेरै उद्योगीहरुको समस्या समाधान गर्ने माध्यम बनेकाले पनि संघको गरिमा बढ्दै गएको बताउनुभयो । वहाँले आफ्नो पालामा सुरु भएर रोकिएको उत्पतिको प्रमाणपत्र दिने काम अहिले संघले पाएकोमा निकै खुसी लागेको बताउँदै त्यो समयमा सुरु गरेका इलम बुलेटिन र उत्कृष्ट पत्रकारीता पुरस्कारले निरन्तरता पाइरहेको मा खुशी व्यक्त गर्नुभयो ।
पूर्वअध्यक्ष दिनेशराज रेग्मीले तीन तहको सरकारमा उद्योगीले धेरै ठाउँ विभिन्न शिर्षकमा बुझाउनुपरेका करको विषयले हैरानी पारेको बताउँदै करमा एकद्धार प्रणाली बनाउन दवाव दिनुपर्ने सुझाव राख्नुभयो । उहाँले नेपाली उत्पादनलाई हरेक सरकारी कार्यालयमा अनिवार्य प्रयोग गर्ने सरकारको नियम नै कार्यान्वयनमा नआएको विषयलाई अब संघले विशेष रुपमा उठाउँदै यसको कार्यान्वयनमा अन्य संस्थाहरुसँग सहकार्य गरेर अभियान चलाउनुपर्ने बताउनुभयो । पूर्व अध्यक्ष तथा नेपाल उद्योग परिसंघका प्रदेश उपाध्यक्ष बाबुराम बोहोराले अहिले पर्यटन उद्योगको धेरै संभावना भएकाले यो क्षेत्रमा लगानी गरेका उद्योगीहरुलाई सघाउने नीति संघले लिएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले बुटवललाई आधार बनाएर सुरु भएका दुई केबलकारले यहाँको पर्यटन क्षेत्रलाई राम्रो बनाएको र यसबाट सबै क्षेत्रले फाइदा लिनसक्ने संभावना भएको जानकारी दिनुभयो ।
निवर्तमान अध्यक्ष माधव पौडेलले सिद्धार्थ केबलकार पनि संघको सदस्य बनेकोमा धन्यवाद दिनुहुँदै रुपन्देहीको समग्र विकासमा सवै मिलेर हातेमालो गर्न आग्रह गर्नुभयो।
संघका अध्यक्ष दिलिप सापकोटाले संघले बनाएको कार्ययोजनाअनुसार सबै काम अघि बढेको, क्षेत्रीय र पालिका तहका समितिहरु निर्माणको चरणमा रहेको, सामाजिक क्षेत्रमा निरन्तर सहभागिताका साथ अगुवाई गरिरहेको जानकारी दिनुभयो । वहाँले लुम्बिनी केबलबारसँग यसअघि नै सहकार्य गरेर अघि बढिसकेको र अहिले सिद्धार्थ केबलकारसँग पनि सहकार्यको थालनी गरिएको बताउनुभयो । सापकोटाले दुवै केबलकार संघका सदस्य बन्ने तयारीमा रहेको जानकारी दिनुभयो । बैठकमा कोषाध्यक्ष युवराज आचार्यले संघको आयव्यय प्रस्तुत गर्नुभएको थियो भने क्यालेण्डर प्रकाशन समितिका संयोजकहरु अशोक कुँवर र किरण खरेलले अहिलेसम्मको तयारीबारे जानकारी दिनुभएको थियो । धन्यवाद ज्ञापन गर्नुहुँदै संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले पूर्वअध्यक्षहरुको अनुभव आदानप्रदान, र समीक्षासहितका बैठक पर्यटकीय क्षेत्रमा आयोजना गरीरहदा उपस्थित सवै प्रति आभार व्यक्त गनुभएको थियो । संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले संघले अहिलेको कार्यकालमा गरेका कामको समीक्षा गर्ने र बाँकी रहेका योजनाको तयारीका विषयमा यस पटकको बैठक महत्वपूर्ण रहेको बताउनुभयो ।
Advertisement




