आँबुखैरेनी/तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयले बुधबार ८ औ स्थापना दिवस मनाएको छ । उक्त कार्यक्रममा डोकोमा सागको मुठा लिएर घरघरमा पुगेर बिक्री गर्ने महिलादेखि इन्जिनियर, डाक्टरसम्मका व्यक्तिलाई नगद,दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ ।कृषि,पशुपालन,स्वास्थ्य,इन्जिनियर,उद्यमी,साहित्य,कलाकार,खानेपानी,शिक्षा,योग,साधाना लगायतका आ आफ्नो क्षेत्रबाट गाउँपालिका क्षेत्रमा पुराएको योगदानको उच्च मूल्याङकन गर्दै सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने,गाउँपालिका अध्यक्ष शुक्र चुमान,उपाध्यक्ष दुर्गा अर्याल लगायतकाले सम्मान गर्नुभएको हो ।
उक्त अवसरमा आँबुखैरेनीका कृषक आँबुखैरेनीका ईश्वरबाबु गौली,शिक्षा क्षेत्रका बमबहादुर गुरुङ,वरिष्ठ स्वास्थ्यकर्मी लक्ष्मीप्रसाद कोइराला,क्रिस बेकरीका संचालक,साहित्यकार श्रीराम भट्टराई,सरल लघु उद्यमी आमा समुह,सुन्तला खेती गरेका लक्ष्मण थापालाई सम्मान गरिएको थियो । त्यसैगरी कोकाकोला कप–२०६३ का खेलाडी एवं आँबुखैरेनी–३ का वडाध्यक्ष दिनेश केसी,केशव केसी,सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक डा।सौरभ श्रेष्ठ,कवि अनिल श्रेष्ठ,शिक्षक तुलबहादुर गुरुङ,हिलेखर्क सामुदायिक होमस्टे संचालक,माई छिम्केश्वरी आमा समुह लगायतका २९ जना व्यक्तित्वलाई सम्मान गरिएको हो । सो अवसरमा गाउँपालिकाको कार्य सम्पादनमा सहयोग गरेका कर्मचारीको उच्च मुल्याङकन गर्दै आँबुखैरेनी अस्पतालका प्रमुख डा डिबी क्षेत्री,कृषि शाखा प्रमुख सन्तोष केसी लगायतका पाँच जना कर्मचारीलाई समेत सम्मान गरिएको थियो । गाउँपालिकाबाट सम्मानित व्यक्तित्वको लिपिबद्ध गरेर संरक्षण गरिने गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।




