भरतपुर, १४ भाद्र/कोरोना विरुद्धको लडाईमा सचेतना कार्यक्रम गर्न हातेमालो गर्ने प्रतिवद्धता सहित निषेधाज्ञा सहितको लकडाउनको पुर्नविचार गरी पूर्ण स्वास्थ्य सावधानीको साथ उद्योग, व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाइदिन अनुरोध गर्दै निजी क्षेत्रका प्रतिनिधिहरुद्वारा माननीय कृष्णभक्त पोखरेलज्यूको विशेष उपस्थितिमा प्रमुख जिल्ला अधिकारीलाई सुझाव सहितको ज्ञापनपत्र बुझाईयो ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथामका लागि नेपाल सरकारले, स्थानीय प्रशासनले आवश्यक व्यवस्था गर्न सक्ने गरी देशव्यापी रुपमा गरेको लकडाउन खुलेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला भर लागू हुने गरी गरेको दुई हप्ताको निषेधाज्ञा अवधिको समीक्षा गर्दै आजको दिन सम्म गरिएको लकडाउन अवधिमा जिल्लाभित्र संक्रमण रोकथाम सम्बन्धि गरिएका प्रयासहरुको उपलब्धि र निरन्तरको लकडाउनको नकारात्मक प्रभाव सम्बन्धमा घनिभूत छलफल नगरी लकडाउनलाई मात्र निर्विकल्प मानी यथा अवस्थामा पुनःनिषेधाज्ञा सहितको लकडाउन थप गरिएको कारण आर्थिक गतिविधि अवरुद्ध हुन गइ आपूर्ति श्रङ्खला टुट्न् जाने र मानिसमा रोगले भन्दा पनि भोक र व्यवसायिक तनाबले अति असामान्य अवस्था सिर्जना हुन सक्ने प्रति समग्र निजी क्षेत्रको गम्भिर ध्यानाकर्षण भएको छ ।
कोरोनाको स्वास्थ्यजन्य जोखिम आगामी २ वर्षसम्म रहन सक्ने र लकडाउनको विकल्पमा स्व सतर्कताका र साबधानीका साथ दैनिकीलाई सरलीकृत गरी अघि बढ्नु पर्ने विश्व स्वास्थ्य संगठन र विज्ञहरुले सुझाव दिएको यथाथर्ता छँदैछ । वर्तमान सन्दर्भमा विभित्र सरोकारवाला पक्षहरुसँग छलफल गर्दा संक्रमण रोकथामका लागि वैकल्पिक उपाय प्रयोग गरी आर्थिक गतिविधिहरु चलायमान बनाउनुपर्नेमा सबै पक्षहरुको एकमत रहेकोले तपसिलका सुझाबहरु सहित निजी क्षेत्रहरुको तर्फबाट प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेश गरिएको छ ।





