कटुञ्जे: एक भब्य समारोहकाबीच सूर्यविनायक नगरपालिकाको नयाँ प्रशासकीय भवनको उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नंं ५ मा अवस्थित कटुञ्जेमा नवनिर्मित भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले बालबस्तुगत पुस्तक समेत विमोचन गर्नुभयो । भवन उद्घाटन पछि सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नयाँ भवनबाट सेवा शुभारम्भ भएसँगै नगरबासीलाई प्रभावकारी, छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह हुने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले भवन सेवाका लागि भएको बताउनुहुँदै भन्नुभयो, ‘आगामी विकासका योजना तयार गर्न, कार्यान्वयन गर्न, उपलब्धीको संरक्षण गर्न र थप उपलब्धीतर्फ अगाडि बढ्न योजनाबद्ध र संगठीत प्रयासका लागि भवन चाहिएको हो । त्यसैअनुसार यस भवनले काम गर्ने कुरामा कुनै दुविधा छैन । विश्वास गर्न सकिन्छ । यस उपलब्धीको लागि नगरपालिकाका सम्पूर्णबासिन्दालाई बधाई दिन चाहान्छु ।’ प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरु एकताबद्ध भएर विकास निर्माणमा होमिनुपर्नेमा जोड समेत दिनुभयो ।

नगर प्रमुख बासुदेव थापाले २०७६ साल पुष २५ गते आफैबाट शिलान्यास गरि निर्माण शुरु गरिएको भवन कोरोना महामारी र प्राविधिक कारणबाट केहि ढिलाई भए लागत भने नबढेको बताउनुभयो । प्रमुख थापाले भवन २० करोड ४१ लाख ५२ हजार रुपैयाँ लागतमा निर्माण गरिएको र १८ करोड रकम नगरपालिकाको आफ्नै स्रोतबाट राखिएको बताउनुहुँदै सेवा प्रवाहलाई नागरिकमैत्री, प्रभावकारी र सहज ढंगले अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो ।नगर प्रमुख थापाका अनुसार भवन ६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा फैलिएको छ । कार्यालय परिसरमा भवन मात्रै ३ रोपनी एक आनामा बनेको छ । नयाँ भवनमा करिब ५०० सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ रहेको छ । भवनमा दुईवटा लिफ्ट, ३०० जना अट्ने सेमिनार हल, दुई वटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेका छन् । त्यस्तै, ९२ वटा कार्यालय कक्ष साथै स्तनपान कक्षसमेत रहेको नगर प्रमुख थापाले बताउनुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै संघीय सांसद दुर्लभ थापाले नयाँ भवनबाट सेवा प्रारम्भ हुनु नगरबासीको लागि अत्यन्तै खुसीको कुरा भएको र भवनजस्तै जनताले सहज रुपमा आधारभूत अधिकार, सेवा र सुविधा पाउने विश्वास ब्यक्त गर्नुभयो ।पूर्वमन्त्री महेश बस्नेतले नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछिको पछिल्लो सात वर्षमा विकासमा फड्को मार्न सफल भएको बताउनुभयो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले अध्यारो र साँघुरो कोठाबाट शूरु भएको सूर्यविनायक नगरपालिका सुविधासम्पन्न भवनमा सरेसँगै सेवा प्रवाह मात्र नभई नगरलाई अझ ब्यवस्थित बनाउन सहयोग पुग्ने बताउनुभयो ।
उपत्यकाका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफ्नै भवनबाट सेवा प्रवाह भएकोमा बधाई दिनुहुँदै भवनको सौन्दर्य र नियमीत सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो ।नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले प्रशासनीक भवन सूर्यविनायकको सिंहदरबारको रुपमा उभिएको बताउनुहुँदै जनप्रतिनिधिले जनताको पक्षमा काम गर्दै आएकोमा आगामी दिनमा पनि जनताको हक हित र अधिकार रक्षा गर्न सफलता मिलोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस सूर्यविनायक नगर सभापती निशान ढुंगेलले नयाँ भवनबाट नगरबासीलाई प्रभावकारी रुपमा सेवा प्रवाह हुने विश्वास ब्यक्त गर्नुभयो ।नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले नयाँ भवन उद्घाटनसँगै समग्र सूर्यविनायकको विकासको अध्यायन प्रारम्भ भएको बताउनुभयो ।
कार्यक्रममा स्काउटको तर्फबाट मार्चपार्स र विभिन्न साँस्कृतिक प्रस्तुत समेत गरिएको थियो । सोही अवसरमा भवन निर्माण गर्ने बाबुरत्न जेभी कन्स्ट्रक्सन कम्पनी र नगरपालिकाका प्राविधिक शाखा प्रमुख जनक न्यौपानेलाई सम्मान गरिएको थियो । साथै नगर गान रचनाकारहरु तथा नगर स्काउट आयुक्त कृष्मा थोकरलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नगरपालिकाका नगर प्रवक्ता रविन्द्र सापकोटाले संचालन गर्नु भएको कार्यक्रममा वडा नंं २ का वडाध्यक्ष प्रदिप कार्कीले सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, बृद्धिजीवी, संञ्चारकर्मी तथा स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।




