चितवन राष्ट्रिय निकुञ्जले बाघलाई पासो लगाउने साधन सहित नियन्त्रणमा लिएका व्यक्तिलाई मुद्धा दायर गर्ने तयारी गरेको छ ।गत कार्तिक २ गते विहान ११.३० बजेको समयमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत नवलपरासीको मध्यवर्ती सामुदायिक बनको लक्ष्मी डाँडा भन्ने ठाउँमा चितवन राष्ट्रिय निकुञ्जको कर्मचारीहरु र नयाँ गोरख गणको बगुवन सुरक्षा पोष्टका नेपाली सेनाको संयुक्त गस्ती टोलीले विशेष सुराकीको आधारमा वन्यजन्तुलाई शिकार गर्न प्रयोग भएको सवारी साधनमा प्रयोग हुने ब्रेकको तार १ थान, केवल लाइनमा प्रयोग हुने तार १ थान, रौ अल्झेको जस्तो देखीने तार १ थान सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको जनाईको छ ।
गत कार्तिक २९ गते विनयी त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने दोर्ण प्रसाद न्यौपानेको छोरा बर्ष २० का अमृत न्यौपानेलाई नँया गोरख गण तमासपुर पोष्टका नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको तमासपुर रेञ्जपोष्टका कर्मचारीको संयुक्त टोलीले पक्राउ गरेको हो । बरामद भएको तार सहितको अल्झिएको रौँहरुको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्राप्त डि.एन. ए नतिजा अनुसार उक्त रौँ पाटेबाघको भएको पाइएको र रौँको प्रकृति, भौतिक मापन नतिजा समेतको आधारमा उक्त तार पासो हुन सक्ने, अत्यधिक संघर्षबाट तारमा रौँको उपस्थिति संगै सो रौको शरिरको माथिल्लो र तल्लो घाँटी जस्ता भागको हुने सम्भावना बढी रहेको भनी विवरण प्राप्त भएको विज्ञप्तीमा जनाइएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्युरोबाट प्रतिवादी अमृत न्यौपानेले प्रयोग गरेको मोबाइलको कल डिटेल सहितको डिजिटल परिक्षण गरी पठाउँदा उक्त मोबाइलबाट पासोमा परेको बाघको फोटो समेत प्राप्त भएको र प्रतिवादी अमृत न्यौपानेले गत कार्तिक २ गतेका दिन आफुहरुले थापेको पासोमा बाघ परेको देखी आफु एक्लै रुखमाथी चढेर सोही समयमा उक्त बाघको फोटो आफैले आफनो मोवाइलबाट खिचेको भनी स्वीकार गरेको जनाईको छ ।
यि प्रमाणका आधारमा अमृत न्यौपानलेलाई प्रतिवादी बनाई संरक्षित वन्यजन्तु बाघ मार्ने मुद्धामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण एन २०२९ को दफा २६ को उपदफा ५ को घ बमोजिम कसुर गरेकोले निजलाई सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय र बरामद भएको समानहरु सोही ऐनको दफा २८ बमोजिम जफत गर्ने गरी मागदाबी लिई जिल्ला अदालतमा मुद्धा दायर गर्ने निकुञ्जले तयारी गरेको निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरको हस्ताक्षरित विज्ञप्ती मार्फत जनाइएको छ ।




