देशभरका सुनचाँदी व्यवसायीहरुले अब कच्चा सुन प्राप्त गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप नेपाल बैंकर्स संघको समन्वयमा ‘क’ वर्गका वाणिज्य बैंकहरुले पूर्ववत् व्यवस्था अनुरुप कच्चा सुन आयात तथा वितरण गर्ने भएका हुन्। यो निर्णय सँगै व्यवसायीका साथ साथै आम उपभोक्तालाई समेत राहत मिल्ने छ ।
राष्ट्र बैंकको लिखित परिपत्र अनुसार पूर्ववत् व्यवस्था अनुरुप नै सुन आयात तथा विक्री वितरण हुनेगरी आवश्यक प्रक्रिया शुरु भइसकेको नेपाल बैंकर्स संघले जनाएको छ । बैंकर्स संघका अनुसार वागमति अञ्चल भित्र र बाहिर जिल्लाका लागि समेत सुन आयतको प्रक्रिया शुरु भैसकेको छ ।
विभिन्न कारणवश यसअघि केही समय यता सुन आयात तथा वितरण प्रक्रिया अबरुद्ध भएको थियो । जुन प्रक्रिया आजैबाट शुरु हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल राष्ट्र बैंकको लिखित निर्देशन अनुसार आजै देखि लागु हुनेगरी नेपाल बैंकर्स संघको पहलमा तोकिएका वाणिज्य बैंकहरुले सुन आयात तथा वितरण कार्य सुचारु गर्ने जानकारी प्राप्त भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीले बताउनुभयो ।




