चितवन/तनहुँ, चितवन र नवलपुरको संगम स्थल देबघाट लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर बालाचतुर्दशी मनाइयको छ । शनिबार (आज) बालाचतुर्दशीको अवसरमा देवघाट स्थित पवित्र नदीेमा स्नानगरी हजारौं भक्तजनहरुले शिवालयमा शतबिज छरेका छन् । हिन्दुहरुको पवित्र पर्व कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी विभिन्न मठ मन्दिरहरूमा शतबीज (शतबीउ) छर्न शुक्रबार साँझ नै हजारौं भक्तजन आएका थिए । भक्तजनहरुले शुक्रबार रातभर बत्ती बालेर जाग्राम बसी विहान शतबिज छरेका हुन् ।
शनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । देवघाटमा गरिने शतबीज रोपणको ठूलो महत्व रहेको बताइएको छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले देवघाट आउने गरेका छन् ।




