चितवन/चितवन बहिरा संघले साङ्केतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस चितवनमा पनि विविध कार्यक्रम गरी मनाएको छ । चितवन बहिरा महासंघकी अध्यक्ष बिष्णु कुमारी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै अधिकारीले राज्यले अझैपनि अपांगताका अधिकार सुनिश्चित गर्न नसकेको बताउनुभयो । बहिरा व्यक्तिहरुका लागि राज्यले साङ्केतिक भाषामा जोड दिनुपर्ने र शिक्षा स्वास्थ्यका क्षेत्रमा समेत अपांगता नागरिकलाई सहज किसिमको सेवा उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल नेत्रहीन संघ चितवनका अध्यक्ष सञ्जय अर्यालले चितवनमा झन्डै हालसम्म चार सय भन्दा बढी दृष्टिबिहिन भएतापनि केन्द्र, प्रदेश र स्थानीय निकायले ह्विलचियर, सेतो छडी र जीवन निर्वाहको भत्ता उपलब्ध गराउन नसकेकोप्रति दुखेसो पोख्नुभयो । विभिन्न बहानामा राज्यले आफ्नो फाइदा स्वार्थका लागि मात्र अपांगता भएका व्यक्तिलाई प्रयोग गर्ने गरेको बताउदै उहाँले कानुनले दिएको अधिकारलाई कार्यान्वयन गराउन समेत राज्यपछि परेको बताउनुभयो ।
भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास चन्द्र आचार्यले बहिरा अपांगता भएका बालबालिका तथा व्यक्तिहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको बताउनुभएको छ । विद्यालय भर्ना हुनबाट बञ्चित भएका बालबालिकाहरुको निशुल्क भर्ना प्रक्रियामा समेत जोड दिएको उहाँले बताउनुभयो । कार्यक्रममा चितवन, मकवानपुर, धादिङ र काठमाडौं गरी विभिन्न क्षेत्रका बहिराहरुको सहभागीता रहेको थियो ।




