चितवन/विश्व हिन्दु युवा संघ जिल्ला कार्यसमिति चितवनले संविधान दिवसलाई आज कालो दिनका रूपमा मनाएको छ । समितिले एक प्रेस बिज्ञप्ति जारी गर्दै वैदीक सनातन हिन्दू धर्मालम्वीहरुका लागि असोज ३ कालोदिन भएको बताएको हो । बहुसंख्यक हिन्दूराज्य भएको मुलुकलाई जबर्जस्त धर्म निरपेक्षता बनाइएको भन्दै अहिलेको संविधान देशका लागि घातक भएको विश्व हिन्दू युवा संघ चितवनका अध्यक्ष घनश्याम पौडेलले बताउनुभयो ।जनविद्रोहको माध्यमबाट सत्ता कब्जा गर्न उद्धत तत्कालीन माओवादी पार्टी र अस्तित्व समाप्त हुनै लागेका तत्कालीन संसदवादी ७ दलका नेताहरुकै कारण देशको अस्तित्व गुमेको पौडेलको भनाइ छ ।

२०६२/०६३ को जनआन्दोलनको मर्म विपरित अमेरिका र यूरोपियन यूनियन जस्ता दाताहरु रिझाउन जनताको आवाज निमोठी लादिएको धर्म निरपेक्षता सम्पूर्ण सनातन हिन्दू धर्मालम्बीहरुलाई स्वीकार्य नभएको उक्त प्रेस बिज्ञप्तीमा जनाइएको छ । त्यहाँ लेखिएको छ, जनताको संविधानको नाम दिइएको नेपालको संविधान २०७२ को धर्म निरपेक्षताको महल हामीलाई स्वीकार्य छैन । विना जनमत संग्रह जनताको सुझावलाई धोती लगाएर लादिएको धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल उल्लेख नगरिएसम्म हामीले यो सविधान हाम्रो नभएको प्रष्ट पारेका छौं । मरे बलिदान, बाँचे स्वाभिमान, हिन्दु राष्ट्र नेपाल, हाम्रो अभियानू भन्ने नारासहित गरिदै आइएको सो अभियानले हिन्दू धर्मको रक्षा र धर्मका नाममा भएका बेथिति र जबर्जस्त भइरहेको धर्मान्तरणका गतिविधिलाई समेत समितिले रोक्नको लागि पहल गर्दै आइरहेको विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष प्रेम गैरेले बताउनुभयो ।




