चितवन/चितवनमा “परिवर्तित समयमा उच्चशिक्षाः पाठ्यक्रम, शैक्षणिक विधि, मूल्यांकन पद्धती र नेतृत्व” भन्ने विषयकमा एकदिने अन्तरक्रिया गरिएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पसको अनुसन्धान विभागले विश्वविद्यालय अनुदान आयोग, विस्तारित कार्यसम्पादनमा आधारित अनुदान अन्तर्गत रहेर पाठ्यक्रम, शैक्षणिक विधि, मूल्यांकन पद्धती र नेतृत्व कार्यक्रम गरेको हो ।
माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा क्याम्पसका क्याम्पस प्रमुखहरुको सहभागितामा भएको कार्यक्रममा रजिष्ट्रार, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरकी प्रा.डा.शारदा थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी कार्यक्रममा काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशनका डीन प्राध्यापक डा. बालचन्द्र लुइँटेलको बिशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्राध्यापक डा. थपलियाले विद्यार्थीको सिकाईलाई व्यवहारमा कार्यान्वयन गर्दै लैजानुपर्ने बताउनुभयो । शिक्षामा देखिएका बेथितिलाई चिर्दै सबैको पहुँचमा पुराउनुपर्ने तर्क गर्नुभयो । कार्यक्रममा चितवनका विभिन्न क्षेत्रका क्याम्पसका शिक्षकहरुको सहभागीता रहेको थियो । बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा झन्डै ७०० जना शिक्षकहरुको सहभागीता रहेको क्याम्पसका प्रमुख खिमलाल दाहालले जानकारी दिनुभयो ।




