चितवन/भरतपुर २ स्थित क्षेत्रपुरमा रहेको एपेक्स कलेजमा अध्यनरत कक्षा ११ र १२ का बिज्ञान संकायका बिद्यार्थीहरुले आज पर्यटकिय क्षेत्र देवघाटको स्थलगत अबलोकन गरेका छन् ।हिन्दु धर्मको धार्मिक महत्त्व र देवघाटको पौराणिक अबस्थाको अध्यन गर्न बिद्यार्थीहरुले देवघाटको अबलोकन गरेका हुन् । उनीहरूलाई देवघाटमा रहेका हरिहर, गलेश्वर, सीता गुफा जस्ता विभिन्न आश्रमहरुको अबलोकन गराइएको कलेजका बिज्ञान संयोजक खुशीराम न्यौपानेले जानकारी दिनुभयो ।
विज्ञान र धर्म मानव अनुभवका विभिन्न पक्षमा आधारित भएको हुँदा यसको महत्त्व बिद्यार्थीसामु दर्शाउन अत्यन्त आबश्यक रहेको न्यौपानेको भनाइ छ । बिज्ञानले समेत धार्मिक परम्परालाई मान्यता दिएको हुँदा विज्ञान र धर्म छुट्टाछुट्टै हुन् भन्ने मानसिकतालाई हटाउन जरुरी रहेको उहाँले बताउनुभयो ।
कलेजमा बिज्ञान व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, वायोलोजी बिज्ञान सहित नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाई हुँदै आइरहेको छ । दिवा संकाय अन्तर्गतका ३०० जना बिद्यार्थी र शिक्षकहरुले देवघाटको भ्रमण गरेका हुन् ।
उता हिन्दुधर्म अनुसार, साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक जनविश्वास छ । महिनाको अरू दिन नसकेपनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । पवित्र भूमि देवघाटको स्थलगत अध्यन एवं अबलोकन र भक्तिभाव तथा पुजाआजाका लागि भक्तजनहरुको बर्षेनी घुइँचो लाग्ने गर्दछ । यहाँ धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेका थुप्रै मठ मन्दिर र स्थलहरु रहेका छन् । भने नजिकै स्नानका लागि देवघाट नदी समेत रहेको छ ।




