चितवन/चितवनमा धान रोप्ने समयमा सानो ठूलो पानी पर्न थालेपछि किसानहरूमा खुशीयाली छाएको छ । दिउँसो अत्यधिक गर्मी भएपनि एकसातादेखि सामान्य छिटपुटका रूपमा परेको पानीले किसानहरुलाई राहत महसुस गराएको हो । अघिल्लो बर्षको तुलनामा चितवनमा केही ढिलागरी पानी परेको थियो । आकाशे पानी र खोलाको भरमा रोपाइँ गर्ने किसानहरूले अघिल्लो बर्ष केही ढिलाई गरी रोपाइँ सुरु गरेका थिए । जिल्लामा बर्षा मौसम सुरु भएको भन्दै किसानहरुले बीउको ब्याड राख्ने काम सकाएर तयारी भएको धानको बीउ बारीमा रोप्ने तयारीमा छन् । भने केही किसानहरुले रोप्नको लागि बारी खाली गर्दैछन् ।
कतिपय कृषकले आकाशे पानी र कुलो नलाग्ने ठाउँमा स्थानीयले आफ्नै बोरिङबाट पानी लगाएर धान रोप्ने कामसुरु गरेका छन् । कहिले पानी पर्ला र धान रोप्ने भन्दै पर्खाइमा बसेका कृषकहरूले वर्षा भएसंगै धमाधम बोरिङ र कुलाको पानी प्रयोग गरेर धान रोप्न थालेका हुन् । अहिले पश्चिम तथा पूूूर्वी चितवनका क्षेत्रहरु माडी, गितानगर, मेघौली, मंगलपुर, शिवनगर, शारदा नगर, जगतपुर,खैरहनी, टाँँडी, पर्सा र राप्ती लगायतका क्षेत्रमा किसानहरुले रोपाइँ सुरु गर्न लागेका हुन् । जिल्लामा बर्षेनी झन्डै २२ हजार हेक्टर जमिनमा धान रोपाई हुने गरेको र अघिल्लो आर्थिक वर्षमा ६५ हजार २ सय ९९ मेट्रिकटन धान उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिनुभयो ।




