सहकारीका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अधिकारीले दुग्ध उत्पादक किसानका समस्याहरुलाई सम्बोधन गर्न राज्य तत्काल लाग्नुपर्ने बताउनुभएको छ । त्यस्तै उहाँले बजारीकरणको व्यवस्था गराएर दूधको मूल्यमा एकरुपता ल्याउनुपर्ने बताउनुभयो ।
जिल्लामा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये एक लाख ५० हजार लिटर बाहिरी जिल्लामा जाने गरेको थियो । अहिले चितवनमा दूध बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । जिल्लाबाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले चितवनको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउन छाडेसँगै बिक्रीमा कमी आएको जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो ।
बगालेका अनुसार, झन्डै ४० हजार भन्दा बढी किसानहरूले दूधको भुक्तानी अझै पाउन नसकेको र ७२ करोडको हाराहारीमा भुक्तानी रकम लिन बाँकी रहेको बगालेको भनाइ छ । त्यस्तै पशु सेवा कार्यालयका प्रमुख डा. सुशील केसीले यही अवस्था रहे किसान आन्दोलनमा उत्रनु बाहेक अर्को विकल्प नभएको बताउनुभएको छ ।
किसान सडकसंघर्षमा उत्रिएर आफ्नो समस्याको समाधान आफैँले खोज्नुपर्ने दिन नजिकिएको बताउँदै केसीले रामनगरमा रहेको चितवन मिल्क उद्योगमा उत्पादित वस्तु खपत नहुँदा बन्द गरेपछि अझै समस्या थपिएको बताउनुभयो । ‘दूध उत्पादक किसानले असोजदेखिको भुक्तानी नपाउनु र निजी संस्थाले दूध नलानुले किसान मारमा परेका छन्।’
अहिले केही मात्रामा दुग्ध विकास संस्थान (डिडिसी)ले दूध उठाउने गरेको छ । निजी संस्थाहरूले लैजाने दूधमध्ये केही मात्रामा संस्थानले लैजाने भए पनि धेरै दूध जिल्लामा उठ्न नसकेको हो ।




