-राजु भट्ट
माडी, असार ०८/चितवन उद्योग संघले स्वदेशी उद्योगहरुको प्रबर्धनमा सहयोग पुग्ने गरी महत्वपूर्ण विषय वस्तुलाई समाविष्ट गरी नीतिगत राय सुझाब तथा स्थानीय गाउँपालिकाको राजश्व परामर्श समितिलाई दिईने राय सुझाव इच्छाकामना गाउँपालिकाका अध्यक्षलाई पेश गरेको छ ।
पेश गरिएको नीतिगत राय सुझावहरुमा गाउँपालिकामा माटो परीक्षण प्रयोगशाला स्थापना गरी व्यवसायिक कृषि उत्पादनका लागि गाउँपालिका भित्र विशिष्टिकृत अर्गानिक पकेट क्षेत्र पहिचान गरी सामुहिक कृषि उपज उत्पादनको थालनी गर्नुपर्ने र कृषि उपजको न्यूनतम लागत मूल्य निर्धारण गरी सो मूल्य भन्दा कममा बिक्री गर्नुुपर्ने अवस्थामा बिमाबाट पूर्ति गर्ने व्यवस्था गर्नुपर्ने, कृषकका बिक्री नभएका कृषि उपज न्युनतम समर्थन मूल्यमा खरिद गरी भण्डारण गर्न गाउँपालिकामा खाद्यन्न भण्डार निर्माण गर्ने र बिउविजन बैंकको स्थापना गरी बिउविजनको सहज आपूर्ति हुने व्यवस्था गर्नुपर्ने, आधिकारिक खरिद विजकका आधारमा व्यवसायिक किसानहरुलाई विउ र विरुवा खरिदमा अनुदान र प्राङगारिक मल तथा कृषि उद्योगको प्रकृतिको आधारमा विद्युत महशुलमा ५० देखि १०० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने, रोजगारी अभिवृद्धिका लागि सिपमूलक तालिमको व्यवस्था गर्नुपर्ने, खाद्य गुणस्तर परीक्षण, विषादीको अवशेष परिक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने, कृषि सहकारी मार्फत भण्डार निर्माण गरी सञ्चालन गर्ने व्यवस्था हुनुपर्ने, उद्यमशिलता विकास कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने, कोरोना संक्रमणका कारण रोजगारी गुमाएका व्यक्तिहरुलाई ज्ञान, सीप, अनुभव, शैक्षिक प्रमाणपत्र र परियोजना प्रस्तावनाको आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने लगायतका विषयहरु समावेश गरिएको थियो ।
इच्छाकामना गाउँपालिकामा आयोजित सुझाव पेश कार्यक्रम चितवन उद्योग संघ इच्छाकामना इकाई समितिका अध्यक्ष एवं संघका कार्यसमिति सदस्य अमरबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । संघका उपाध्यक्ष त्रिलोचन कँडेलले संघले तयार गरेको सुझाव एवं संघका गतिविधिको बारेमा प्रष्ट पार्नुभएको थियो । सुझावलाई चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्तीले प्रस्तुतिकरण गर्नुभएको थियो ।
सुझाव पेश कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडा नं. ५ का वडाअध्यक्ष मोदराज सिलवाल, राजश्व शाखाका प्रतिनिधि रिता अर्याल नेपाल, उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, इच्छाकामना इकाई समितिका सदस्य शिव पौडेल, रामहरि कँडेल, नरबहादुर नेपाल लगायतको उपस्थिति रहेको थियो ।





