गैंडाकोट/ सर्वोच्च अदालतले शिक्षा समिति गैंडाकोटको निर्णय सदर गरे लगत्तै शनिबार जनक माध्यमिक विद्यालय गैंडाकोटमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेलको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

Advertisement

नगर शिक्षा समितिले सम्बन्धित वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने गरी परिपत्र गरे अनुसार गठन गरिएको समितिका सदस्यहरुमा विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष मदनभक्त अधिकारी, निर्वाचित महिला वडा सदस्य पार्वती सापकोटा, समाजसेवी एवं शिक्षाप्रेमीको तर्फबाट महेन्द्र कार्की र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा रहनु भएको छ ।
नव गठित समितिको पहिलो बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । नारायणी नदि किनारमा रहेको कुटी जग्गासम्म सहज मार्गका लागि जग्गा खरिद गर्ने निर्णय गरिएको नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो । त्यस्तै उहाँले सबैलाई धन्यवाद ज्ञापन गर्दै रोटरी क्लबसँगको साझेदारीमा शौचालय बनाउने निर्णय गरिएको पनि जानकारी दिनुभयो ।

उहाँले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा झनै जिम्मेवारी थपिएको महसुस भएको बताउँदै आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक एवम् भौतिक विकासमा कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । साथै उहाँले सबैको सहयोगको अपेक्षा गर्दै सबैसँग सहकार्य गरेर अघि वढ्ने समेत बताउनुभएको छ ।