-राजु भट्ट, २ असार
भरतपुर/चितवन उद्योग संघले स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग पुग्ने गरी महत्वपूर्ण विषय वस्तुलाई समाविष्ट गरी नीतिगत राय सुझाब तथा स्थानीय नगरपालिकाको राजश्व परामर्श समितिलाई दिईने राय सुझाव सम्बन्धित पालिकाका प्रमुखहरुलाई पेश गरेको छ ।
छुट्टाछुट्टै तीनवटा नगरपालिकामा पेश गरिएको नीतिगत राय सुझावहरुमा उद्योग, व्यवसाय करमा १०० प्रतिशतसम्म छुट हुनुपर्ने, कृषि उपजको न्युनतम मूल्य तोकिनु पर्ने, नगरपालिकाभित्र कम्तीमा १ वटा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने, रोजगारी अभिवृद्धिका लागि सिपमूलक तालिमको व्यवस्था गर्नुपर्ने, खाद्य गुणस्तर परीक्षण, विषादीको अवशेष परिक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने, कृषि सहकारी मार्फत भण्डार निर्माण गरी सञ्चालन गर्ने व्यवस्था हुनुपर्ने, उद्यमशिलता विकास कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने, कोरोना संक्रमणका कारण रोजगारी गुमाएका व्यक्तिहरुलाई ज्ञान, सीप, अनुभव, शैक्षिक प्रमाणपत्र र परियोजना प्रस्तावनाको आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने लगायतका विषयहरु समावेश गरिएको थियो ।
रत्ननगर नगरपालिकामा आयोजित सुझाव पेश कार्यक्रम चितवन उद्योग संघ रत्ननगर इकाई समितिका अध्यक्ष एवं संघका उपाध्यक्ष गजेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । संघका अध्यक्ष राजु पौडेलले संघले पेश गरेको सुझाव एवं संघका गतिविधिको बारेमा प्रष्ट पार्नुभएको थियो । सुझाव पेश कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी, प्रमुख प्रशासकीय अधिकृत टुबराज पोखरेलको सहभागिता रहेको थियो ।
राय सुझाव पत्र बुझ्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले संघले पेश गरेको राय सुझाव नगरपालिकाको मर्म र भावना अनुसार रहेको र आएका राय सुझावहरुलाई प्राथमिकताका साथ हेरिने बताउनुभयो ।
त्यस्तै खैरहनी नगरपालिकामा आयोजित सुझाव पेश कार्यक्रम चितवन उद्योग संघ खैरहनी इकाई समितिका अध्यक्ष एवं संघका कार्यसमिति सदस्य प्रतिभा श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । सुझाव पेश कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी, उपप्रमुख सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माको सहभागिता रहेको थियो । सुझाव पत्र बुझ्दै खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले संघले अघि सारेका सुझावहरु नगरपालिकाको कार्ययोजनासँग मेल खाने हुँदा यसलाई प्रयोगमा ल्याउन झन सजिलो हुने र संघका हरेक सुझावहरुलाई सहकार्य गर्दै लैजाने बताउनुभयो ।
त्यस्तैगरी राप्ती नगरपालिकामा आयोजित सुझाव पेश कार्यक्रम कार्यक्रम चितवन उद्योग संघ राप्ती इकाई समितिका अध्यक्ष एवं संघका कार्यसमिति सदस्य टंकप्रसाद उप्रेती (रामु)को सभापतित्वमा सम्पन्न भएको थियो । राप्ती नगरपालिकालाई पेश गरिएको सुझाव कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, उपप्रमुख इमानसिंह लामा, प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेल लगायतको सहभागिता रहेको थियो ।
सुझाव पत्र बुझ्दै राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले संघले नीतिगत राय सुझाब तथा नगरको राजश्व परामर्श समितिलाई पेश गरेको सुझाव निकै उपयोगी भएको र समग्र नगरको विकासमा महत्वपूर्ण हुने भएकाले प्राप्त सुझावहरु आ.व.०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन गर्ने बताउनुभयो ।
प्रत्येक स्थानीय पालिकाहरुमा पेश गरिएको सुझावलाई चितवन उद्योग संघका उपाध्यक्ष एवं औद्योगिक नीति निर्माण समन्वय विभागका संयोजक युगराज वस्तीले प्रस्तुतिकरण गर्नुभएको थियो ।
सुझाव पत्र पेश कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, पूर्व अध्यक्ष भीमबहादुर पाण्डे, उपाध्यक्षहरु त्रिलोचन कँडेल, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, हरि प्रसाद भट्ट, टिकादत्त अधिकारी, पुरुषोत्तम रिजाल, अमर घिमिरे, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, रत्ननगर इकाई समितिका सदस्यहरु बेदप्रसाद भट्टराई, शिव खनाल, गोविन्द प्रसाद खनाल, शम्भु खनाल, प्रमिला पोखरेल, खैरहनी इकाई समितिका सदस्यहरु युवराज पाठक, शिवप्रसाद चिमरिया, राप्ती इकाई समितिका सदस्यहरु सुदिप ओली, राजेन्द्र कार्की, चन्द्रप्रकाश पाठक, रत्ननगर इकाई समितिकी कार्यालय सचिव कञ्चन खतिवडा लगायतको उपस्थिति रहेको थियो ।






