दुर्गा प्रसाईं र उनका समर्थकहरुले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा आज मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ । मेडिकल व्यवसायी अथवा राजसंस्था स्थापनाका लागि अभियान चलाउँदै आएका अभियन्ता दुर्गा प्रसाईंले सरकारसँग विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बल्खुमा कार्यक्रम उद्घाटन गर्ने बताएका छन् । मुख्य कार्यक्रम ‘बल्खुमामा भए पनि अन्य कार्यक्रम देशभरी नै चल्ने प्रसाईँ स्रोतको भनाई छ । प्रसाईंले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्यलगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् ।
पछिल्ला दिनमा लघुवित्तहरूले प्रायः तराईमा फैलाइरहेको कर्जा आतंक कृषि ऋण वास्तविक किसानले पाउन नसकेको र बैंकले समेत सेवा प्रवाहमा जोड दिन नसकेको र बिचौलियाहरुको नै हालीमुहाली भएको जस्ता मुद्दाहरुको वकालत गर्दै, जन समर्थन जुटाईरहेका छन । उता नेकपा एमालेका नेता महेश बस्नेतले तीनकुनेमा कार्यक्रम आयोजना गरिने बताएका छन् ।
नेपाल सरकारले सुरक्षाको कारण माइतिघरदेखि बानेश्वरसम्मको क्षेत्रमा सभा सम्मेलन गर्न नदिने निर्णय गरेसँगै मंसिर ७ गते ११ बजे हुने युवा संघ र अखिलको विषेश कार्यक्रम तीनकुनेमा गरिने उनले सामाजिक सञ्जालमार्फत जनाएका हुन्। मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहिनताले सीमा नाघेको भन्दै युवासंघले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्न लागेको युवा संघका प्रवक्ता निरोज पौड्यालले जानकारी दिएका छन् ।
उनले माफियागिरी, समाजिक सद्भाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधि विरुद्ध प्रदर्शन गर्न लागिएको जनाएका हुन् । नेकपा एमालेका नेता बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कार्यक्रम गर्ने तयारी गरेसँगै मुडभेडको अवस्था निस्कन सक्ने भन्दै प्रशासनले उक्त क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेको छ। प्रसाई र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तय गरेपछि प्रशासनले काठमाडौंको सुरक्षा व्यवस्थामा पनि कडाइ गर्ने भएको छ।




