- काठमडौं /
Iकोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको समयमा यसको परीक्षणलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउनका लागि सातै प्रदेशका स्वास्थ्य प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको आयोजना, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)को समन्वय तथा विश्व स्वास्थ्य संगठन र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षण दिइएको मेलानका महासचिव रेशम अधिकारीले जानकारी दिए ।
Advertisement
प्रशिक्षणमा नाक र मुखबाट स्वाब संकलन गर्दा अपनाउने विधि, पीपीई लगाउने तथा फुकाल्ने तरिका, स्वाबको नमुना पिसिआर प्रयोगशालासम्म पुर्याउँदा अपनाउनु पर्ने सुरक्षित उपाय लगायतका बारेमा सहभागीहरुलाई प्रशिक्षित गराउने काम भएको मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।
सातै प्रदेशमा आयोजना गरिएको प्रशिक्षणमा २१० जना प्रयोगशालाकर्मीहरुले सहभागिता जनाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका लेखनाथ भट्टराईले बताए ।तालिममा मेडिकल टेक्नोलोजिष्ट कृष्ण अधिकारी र दीपक सुवेदिले सहजीकरण गरेका थिए ।




