काठमाण्डौं/गैर कानुनी रुपमा ओसारपसार हुने कुखुरा तथा कुखुराजन्य पदार्थहरुको नियन्त्रण, राष्ट्रिय उद्योगको संरक्षण र कृषकका उत्पादनलाई प्रोत्साहन र भारतीय पोल्ट्रीजन्य बस्तुलाई रोक्ने लगायतका विषयमा पोल्ट्री व्यवसायी र सरोकारवाला निकायबीच काठमाण्डौंमा छलफल सम्पन्न भएको छ ।
पशुसेबा बिभागका उपनिर्देशक डा.प्रेरणा सेडाई भट्टराई र पोल्ट्री व्यवसायी नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुण चन्द्र बिष्टले प्रस्तुत गर्नुभएको कार्यपत्र माथि छलफल गरिएको थियो ।

कार्य पत्र र बैठकमा उठेका बिषयमा छलफल पश्चात गृह प्रशासनको तर्फबाट उद्योगीहरुको समस्याहरुको समाधान गर्न सहयोग गर्ने निष्कर्ष निस्किएको थियो । गृह प्रशासनले राष्ट्रिय उद्योगको संरक्षण र कृषकका उत्पादनलाई प्रोत्साहन र भारतीय पोल्ट्रीजन्य बस्तुलाई रोक्न कुनै कसर बाँकी नराख्ने समेत जनाएको छ । छलफल पश्चात पोल्ट्री व्यवसायी र किसानमा थप उर्जा समेत थपिएको छ ।
उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समुपस्थितीमा सम्पन्न छलफल कार्यक्रममा गृह मन्त्रालयका सचिब दिनेश भट्टराई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तवहादुर कुँबर, सशस्त्र प्रहरी वलका महानिरीक्षक राजु अर्याल, भन्सार बिभागका महानिर्देशक शोभाकान्त पौडेल, पशु सेबा बिभागका महानिर्देशक डा. सम्झना कुमारी काफ्ले, उपमहानिर्देशक डा. प्रेरणा सेढाई भट्टराई, नेपाल पोल्ट्री महासंघका पदाधिकारीहरु, नेपाल दाना उद्योग संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल कुखुरा व्यवसायी मन्च, नेपाल लेयर्स कुखुरापालक संघका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।





