नेपाल ट्रेड युनियन महासंघ जिफन्टले श्रम कानुन कार्यान्वयनका लागि जोड दिदै आएको छ। जिफन्ट वाग्मती प्रदेस कमिटीले बिगत केहि महिना अगाडि देखि हरेक नगर तथा गाउँ पालिकाहरुमा श्रम डेस्क संचालन कार्यबिधि जारि गर्न पहल गरेको थियो ।नेपालको संबिधानको धारा ३४ले श्रमिकको हकको कुरा गरेको छ ।जसमा सबै श्रमिकलाई सामाजिक सुरक्षाको हक हुने कुरा उल्लेख गरेको छ।श्रमिकको हकलाई कार्यान्वयनकै लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन,२०७४ निर्माण भएको हो । जसमा अनौपचारीक तथा स्वरोजगार क्षेत्रमा काम गर्ने श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन कार्यबिधि समेत बनेको छ।उक्त कार्यबिधिको यहि साउन ३१ गते प्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्ड वाट शुभारम्भ घोषणा हुदै गर्दा सामाजिक सुरक्षा कोष कार्यालय र भीमफेदी गाउँपालिकाबीच सम्झौता भएको छ ।

भीमफेदी गाउँ पालिकाको अध्यक्ष हिदम लामा र सामाजिक सुरक्षाकोषको कार्यकारी निर्देशक कृष्ण प्रसाद ज्ञावलीबीच यहि साउन ३० गते कोषको कार्यालयमा सम्झौंता सम्पन्न भएको हो। बागमती प्रदेश भित्र सामाजिक सुरक्षामा सम्झौता गर्ने पहिलो गाउँपालिका भिमफेदी गा.पा. भएको छ। गाउँपालिकाले गाउँसभाबाटै स्वीकृत गरेको कार्यक्रमले आज पूर्णता पाएको अध्यक्ष हिदम लामाले जानकारी दिए। चालु आर्थिक वर्षमा गाउँपालिकामा बसोबास गर्ने १ सय जना अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूलाई सो कार्यक्रममा समेटिने अध्यक्ष लामाले बताए। ‘सुरुवात भएको छ। हामी यस वर्ष १०० जना श्रमिकलाई कोषमा आवद्ध गराउनेछौँ। विस्तारै संख्या बढाउँदै लैजानेछौँ ,’ उनले भने। सुरुवाती अवस्थामा घरेलु तथा कृषि क्षेत्रमा काम गर्ने श्रमिक निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिक लगायतलाई आवद्ध गराउने योजना रहेको बताए। अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिक कोषमा आबद्ध भएपछि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र पेन्सन सुविधा पाउनेछन् । सूचीकृत हुन चाहनेले आफ्नो पालिकाको सिफारिस भने अनिवार्य पेस गर्नुपर्नेछ । कोषमा अहिलेसम्म १८ हजारभन्दा धेरै रोजगारदाता कम्पनीका ७ लाख १० हजार श्रमिक आबद्ध छन् । २०७६ सालदेखि औपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको थियो । त्यसै गरि नेपाल ट्रेड युनियन महासंघ जिफन्ट भिमफेदि गाउपालिका कमिटिको भेला कमिटीका अध्यक्ष जिवन लामाको अध्यक्षता बाग्मति प्रदेश अध्यक्ष रामहरि नेपालको प्रमुख आतिथ्यतामा सामाजिक सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम यहि साउन ३० गते भिमफेदिमा सम्पन्न भएको छ। कार्यक्रममा प्रदेस कमिटिका उपाध्यक्ष अर्जुन अर्याल, मजदुर नेता गंगा भट्टराई, जिल्ला अध्यक्ष बिक्रम सिं स्यान्ङ्तान ले प्रशिक्षण मन्तव्य दिनु भएको थियो ।




