भरतपुर/भरतपुर महानगरले अन्तराष्ट्रिय युवा दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास भन्ने नाराको साथ अगस्ट ६ देखि १२ गतेसम्म दिवस मनाउन लागिएको हो । महानगरले भरतपुरका विभिन्न युवा तथा सामाजिक संघ संस्थासँगको सहकार्यमा विविध कार्यक्रम आयोजना गरेको छ ।
पहिलो दिन आईतबार योगदान राष्ट्रका लागि चितवनको समन्वयमा भरतपुर १२ मा रहेको चिल्डेनपार्कमा वृक्षारोपण भएको छ । त्यस्तै आज सोमबार वे ग्रुप नेपाल र चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिसँगको सहकार्यमा महानगरले सरसफाई तथा डेंगु सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । साउन २३ गते मङगलबार बेटर चितवनको समन्वयमा विद्यालयहरुमा लागु पदार्थ दुव्र्यशन र मानसिक स्वास्थ्य सम्वन्धी कार्यक्रम हुनेछ । यस्तै २४ गते वुधबार बेटर चितवनकै समन्वयमा भरतपुर भ्रमण वर्ष २०२४ प्रवर्धनात्मक भिडियो प्रतियोगिता हुनेछ । २४ र २५ गते नेपाल रेडक्रस सोसाईटी चितवन र व्लड डोनर्स सोसाईटी नेपालको समन्वयमा विद्यालय कलेजमा रक्तदान सम्वन्धी उत्प्रेरणात्मक कार्यक्रम हुनेछ ।
२६ गते विहान ११ बजे महानगरको सभाहलमा उद्यमी युवासँग अन्तरक्रिया हुनेछ । जसको समन्वय वे ग्रुप नेपाल र चितवन सेवा समाज अन्तराष्ट्रिय समन्वय समितिसँग भएको छ । अन्तिम दिन साउन २७ गते पटिहानीको कभर्डहलमा ५ हजार मिटरको दौड, सांस्कृतिक कार्यक्रम , पुरस्कार वितरण र सम्मान तथा समापन कार्यक्रम हुनेछ ।




