मर्स्याङदी/राइनास नगरपालिकाले उत्कृष्ट काम गर्ने ८ जना कर्मचारीलाई सम्मान गरेको छ । शुक्रवार आयोजित नगरसभाको बाह्रौ अधिवेशनमा नगरपालिकाले विभिन्न तहका कर्मचारीलाई नगद सहित सम्मान गरेको हो ।
सम्मानीत हुनेहरुमा राइनास नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव पूर्णवहादुर अछामी, वडा नं. ६ का सचिव (छैटौ अधिकृत) मदनविलास पन्थ, सव इन्जिनियर थमप्रसाद भट्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सितादेवी गैह्रे, शिक्षा शाखाका श्रोतव्यक्ति कुमार न्यौपाने, नगरपालिकाका सह लेखापाल विशाल सुवेदी, चक्रतिर्थ स्वास्थ्य चौकीका इन्चार्ज मित्रु गिरी र वडा नं. ३ का कार्यालय सहयोगी अनिता खड्का रहनुभएको छ ।
कर्मचारीहरुलाई नगरप्रमुख खड्गवहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल र सुशासन समिति संयोजक एवं वडा नं. १ का वडाअध्यक्ष विष्णुप्रसाद पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभएको प्रमुख प्रशासकिय अधिकृत गोकर्णराज सयुलले जानकारी दिनुभयो ।
पालिका भित्र विषयगत शाखा तथा विभिन्न तह र क्षेत्रमा रहेर कर्मचारीले गरेको कार्यसम्पादनको उच्च मुल्यांकलन गर्दै उनीहरुको कामको सम्मानस्वरुप नगद सहित पुरस्कृत गरिएको नगरप्रमुख खड्गवहादुर गुरुङले वताउनुभयो ।
सम्मानीत कर्मचारीहरुलाई बधाई दिदै नगरप्रमुख गुरुङले आगमी दिनमा आफुनो कार्यक्षेत्र, नागरिकको सेवा र नगरपालिकाको विकासमा कर्तव्यनिष्ठ भई अघि वढ्ने हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यसम्पादनको आधारमा गरिने सम्मानले कर्मचारीलाई राम्रो काम गर्न थप हौसला तथा प्रोत्साहन मिल्ने उपप्रमुख पुष्पराज खनालले वताउनुभयो ।
राइनास नगरपालिकाले आगामी आर्थिक वर्षको वजेटमा समेत उत्कृष्ट कार्यसम्पादन गर्ने उपभोक्ता समिति, क्रियाशिल कर्मचारी एवं शिक्षकलाई पुरस्कृत गर्न ३ लाख विनियोजन गरेको छ ।




