चितवन /भरतपुर महानगरपालिका–३ मा रहेको बिपी शान्ति नगरवन संरक्षणको काम सुरु गरिएको छ । विगत लामो समयदेखि संरक्षणको पर्खाइमा रहेको यस नगरवनमा अहिले बिपीको सालिक नयाँ राख्ने काम, टायल बिछ्याउने, कम्पाउन्डिङ गर्नेलगायतका काम भइरहेका हुन् । महानगरपालिकाको ३५ लाखको बजेटमा संरक्षणको काम भइरहेको महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयो ।
Advertisement
उहाँका अनुसार विसं २०३५ सालमा नारायणी बगरको रूपमा रहेको सो क्षेत्रको एक सय १२ बिघा अहिले नगरवनको रूपमा रहेको छ । यहाँ रहेको बिपीको ढलोटको अर्धकदको मूर्ति फुटेसँगै सोही स्थानमा नयाँ सालिक निर्माण गरी पुनः राख्ने काम गरिएको छ । त्यहाँ रहेको वनभोजस्थल व्यवस्थापन, पालेघर व्यवस्थापनलगायतका काम तीव्ररूपमा गरिएको उहाँले बताउनुभयो । तत्कालीन समयमा नगरपञ्चायतले वृक्षरोपण गरेर स्थापना गरेको नगरवनलाई अहिले संरक्षणका लागि काम गरिएको हो ।



नगर वन क्षेत्र पछिल्लो सयम पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएकाले यसलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धनमा जोड्नका लागि संरक्षणका काम गरिएको उहाँले बताउनुभयो । अधिकारीका अनुसार वडा नं ३ ले रघुनाथ तिमिल्सिनाको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी यहाँको संरक्षण र संवर्द्धनका लागि काम गरिरहेको छ । तत्कालीन समयमा भरतपुर नगरपालिका–४ हुँदा विभिन्न समिति निर्माण गरी संरक्षणको काम गरिएको भए पनि पछिल्ला वर्षहरूमा संरक्षणको पर्खाइमा नगरवन क्षेत्र रहेको थियो ।




