काठमाडौं/चालू आवमा बागमती प्रदेशमा डेङ्गुका ४२ हजार चार सय ५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेङ्गुुका बिरामी सबैभन्दा बढी काठमाडौंमा १४ हजार पाँच सय फेला परेको थियो भने सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले जानकारी दिए ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेशका पाँच जिल्लामा डेङ्गुु सम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका जुनियर इन्टोमोलोजिष्ट दीपककुमार साहले अध्ययनको निष्कर्षबारे प्रस्तुति दिँदै २०७९ चैत १० देखि २०८० वैशाख १८ गतेसम्म अध्ययन गरिएका पाँच सय ४७ घरधुरीमा एक हजार छ सय २३ पानी भएका भाँडा निरीक्षण गरिएकोमा एक सय ३३ घरधुरीका एक सय ७० पानी भएका भाँडामा डेङ्गुु फैलाउने लामखुट्टेका जीवाणु भेटिएको बताए ।




