काठमाडौँ/नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा डिजिटल करेन्सी जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो ।
उहाँका अनुसार हाल प्रतिमहिना औसतमा रु ४० अर्बको विद्युतीय कारोबार हुने गरेको छ । गत वैशाखमा क्युआर कोडमार्फत ८६ लाख व्यक्तिले रु २६ अर्बभन्दा बढीको कारोबार गरेको भन्दै नेपालमा विद्युतीय कारोबारको प्रयोग बढ्दो रहेको बताउनुभयो । राष्ट्र बैंकले चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी प्रवद्र्धन वर्षका रुपमा सञ्चालन गरिरहेको छ ।
माछापुछ«े बैंकका अध्यक्ष डा उपेन्द्र महतोले वित्तीय र विद्युतीय कारोबारलाई बढाएर समृद्ध मुलुक निर्माणमा योगदान दिन सकिने बताउनुभयो । प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले आर्थिक कारोबार र विद्युतीय मुद्दामा तल्लो तहसम्म सचेतना प्रवाह नभएसम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो । सो अवसरमा प्याब्सन अध्यक्ष ढुङ्गाना र बैंकका प्रमुख कार्यकारी निर्देशक सन्तोष कोइरालाबीच वित्तीय तथा विद्युतीय साक्षरता अभियानसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । रासस




