पैदल हिँड्नु आफैमा एक समग्र व्यायाम हो । जब हामी एउटा गति वा तिब्रताका साथ हिँड्छौं, शरीरका अंगहरु समुचित ढंगले सञ्चालन हुन्छ । शरीरले पर्याप्त अक्सिजन ग्रहण गर्छ । रक्त प्रवाह राम्ररी सुचारु हुन्छ । जब हामी मधुमेह वा उच्च रक्तचापको उपचार खोज्दै अस्पताल पुग्छौं । चिकित्सक सुझाउँछन्, ‘बिहान(बेलुकी कम्तीमा ३० मिनेट पैदल हिँड्नुहोस् ।’ कतिपय दीर्घ रोगमा सबै किसिमको व्यायाम उपयुक्त हुँदैन । कति व्यायामले उल्टो असर गर्न सक्छ । तर, पैदल हिँड्नमा त्यस्तो कुनै छेकबार छैन ।
शरीरलाई स्वस्थ राख्न हिड्नु पर्छ । दिनमा कम्तीमा तीस मिनेट नियमित हिँड्नाले मुटु स्वस्थ रहनुका साथै हड्डी बलियो हुुन्छ । पैदल हिँड्नाले शरीरको बोसो कम हुनुका साथै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा टाइप २ मधुमेह नियन्त्रित हुने गर्छ । जोर्नीको दुखाई , मांसपेशीको समस्या कम हुनुका साथै ओस्टियोपोरोसिस तथा अन्य प्रकारका क्यान्सरको जोखिम समेत कम हुन्छ ।
दैनिक तीस मिनेट हिँड्दाका फाइदा
दैनिक तीस मिनेटको हिँडाई शरीरका लागि स्वस्थ मानिन्छ । हिँड्दा लामो लामो पाइला चाल्नु पर्दछ । कयौ मानिसलाई एकै पटक छिटो छिटो हिँड्न गार्हो हुनसक्छ । त्यो नहोस् भन्नका लागि मानिसले सुरुमा विहान दिउँसो र बेलुकी दशरदश मिनेटको यात्रा तय गर्न सक्दछन् । जब उनीहरुमा हिँड्ने बानीको विकास हुन थाल्छ, तब उनीहरुले यो क्रमलाई क्रमश बढाउन सक्दछन् । यसले शरीरलाई फिट राख्नुका साथै तौल घटाउन समेत सहायता प्रदान गर्छ ।
शारीरिक गतिविधिको विकास गर्ने
यसरी हिँड्दा अन्य तरीका पनि अपनाउन सकिन्छ । जसले हिँड्ने बानीको विकास अझ प्रभावकारी ढंगले गर्दछ ।
– लिफ्टको सट्टा सिढीको प्रयोग गर्ने
– सार्वजनिक यातायातमा यात्रा गर्दा घर पुग्नु एक स्टप अगाडी नै ओर्लने बानी बसाल्ने ।
– नजिकैको पसल जानु परेमा हिड्ने कोशिश गर्ने ।
– घरमा कुकुर छ भने कुकुरलाई लिएर घर वरिपरि चक्कर लगाउने प्रयत्न गर्ने ।
हिँड्नुलाई दैनिकी बनाउने
यसरी हिँड्दा हिड्ने प्रक्रियालाई नियमित बनाउनु पर्छ । एकै समयमा हिँड्ने बानी बसाउनु पर्छ । र, हिँड्दा उत्तिकै उर्जा खर्च गर्नुपर्छ । त्यसो त कतिपय व्यक्तिलाई हिँड्दा कति उर्जा खर्चने भन्ने राम्रो ज्ञान हुँदैन । यसको लागि निश्चित गन्तव्य तय गर्नु पर्छ । साथै, सोही गन्तव्यमा एकै समयमा पुग्ने प्रयत्न गर्नुपर्छ । यसरी पैदल यात्रा गर्ने क्रममा शरीर फिट भएपछि तपाई आफै त्यो भन्दा लामो दूरी पार गर्न सक्नु हुन्छ । हिँड्दा जति छिटो हिड्न सक्यो, उत्तिनै धेरै क्यालोरी कम हुने गर्छ । तर यसको लागि कुदने भन्दा छिटो छिटो पाइला चाल्ने तथा उकालो ओरालो बाटोमा हिँड्ने गर्नुपर्छ ।




