बुटवल/पाल्पा सडकखण्डको शिद्धबाबामा निर्माणाधीन सुरूङमार्गमा चौविसै घण्टा काम भइरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सुरूङमार्गमा अहिले टनेल पोर्टलको काम भइरहेको आयोजनाले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा बन्ने सुरूङमार्गले सडक डाइर्भसन सकेर टर्नेल पोर्टलको काम निर्माणको कामले तीव्रता पाएको हो ।
सुरूङमार्गका इन्जिनियर युधिष्ट पन्थीले चौविसै घण्टा सुरूङमार्ग निर्माणको काम भइरहेको बताए । ‘केही ठाउँको डिजाइनमा कमेन्ट आएको छ’ इन्जिनियर पन्थीले लोकान्तरसँग भने, ‘डिजाइन पूरा भएका क्षेत्रमा पर्खाल निर्माणका काम भइरहेका छ ।’ आयोजनाको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन हो ।
यो परियोजनाको लागत १० अर्ब रूपैयाँ अनुमान गरिएको छ । स्विस सरकारको विकास सहयोगमार्फत सुरूङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो । सुरूङमार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो । ठेक्का लगाएको करिब १४ महिना पूरा भएको छ । रातिको समयमा बाटो बन्द गरेर काम भइरहेको आयोजनाले जनाएको छ ।-लोकान्तर डट्कमबाट




