भरतपुर/सावित्री ढकालले पशुपालनको लागि दैनिक आवश्यक पर्ने घाँस खेतिका लागि विऊ तथा विरुवा उत्पादन गर्ने गरेकी छिन् । हाम्रो जस्तो कृषि प्रधान देशमा घाँस खेतिबाट पनि वार्षिक मनग्य आम्दानी गर्न सफल उद्यमीको रुपमा चिरपरिचित भएकी छन् ।
भरतपुर महानगरपालिका वडा नं. ८ गौरीगञ्ज, चितवन अभियान टोलमा बस्दै आएकी सावित्री ढकालले खेतियोग्य जमीन बाँझो राखेर शहर पस्ने वा रोजगारीको लागि विदेश पलायन हुने युवा भन्दा फरक रुपमा आफूलाई प्रस्तुत गराएकी छन् । उनले २०७० सालबाट ४ वटा नेपियरको डाठबाट शुरु गरेको घाँसखेति अहिले चितवन घाँस श्रोत केन्द्रको नामाकरण गरी आफ्नो व्यवसायलाई अगाडी बढाएकी छन् । उनले ३० कठ्ठा क्षेत्रफलमा विभिन्न जातका सुपर नेपियर, सुम्वा सेटेरीया, पास पालम, मुलाटो, मेन्दोला, किम्बु, इन्दु, भट्टमासे लगायत १२ जातका बहुबर्षीय घाँस र तिनका विऊ र विरुवा उत्पादन गर्ने र सरल मूल्यमा विक्रि वितरण गर्ने गरेकी छन् । यसरी उनले उक्त घाँसबाट बार्षीक ५ लाख रुपैयाँ आम्दानी गर्ने गरेकी छन् ।
पशुलाई अति आवश्यक पर्ने हरियो घाँसलाई यस श्रोत केन्द्रले विभिन्न किसिमका विऊ विरुवा साथै आवश्यक परेमा घाँस समेत विक्रि वितरण गर्ने लक्ष्य लिई यस व्यवसाय अगाडी बढेको छ । पशुपालनको ७० प्रतिशत लागत खर्च आहारमा छ । किसानहरुले दाना चोकरको मात्र प्रयोग गर्ने भएकोले लागत बढी परि आम्दानी कम हुने गरेको उनी बताउँछिन् ।
त्यसकारण घाँसलाई १२ महिने कोसे र अकोशे लाई उत्पादन गरेर व्यवस्थापन गर्न सकियो भने उत्पादन लागत घटाई आम्दानी वृद्धि गरी पशुपालनबाट अत्याधिक मूनाफा लिन सकिने र वार्षिक घाँस वाली तालीका बनाएर घाँस खेति गरियो भने पशुलाई ताजा पोषण युक्त्त आहार उपलब्ध हुने उनको भनाई छ । यहाँ सुपथ मूल्यमा १ रुपयाँ देखि ५ रुपयाँ सम्मका घाँसका विरुवा पाईने भएकाले देशैभरीका विभिन्न प्रदेश र स्थानिय तहका कृषक सहकारी र गैर सहकारी सघ सस्थाहरु घाँसको विऊ र विरुवाको खोजि गदै चितवन घाँस श्रोत केन्द्रमा कृषकहरु आईपुग्ने गरेको उहाँको भनाई छ ।





