काठमाडौँ/प्रतिनिधिसभाका सदस्यहरुले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषय स्पष्टरुपमा उल्लेख गरिनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलका क्रममा उहाँहरुले बढी प्राथमिकता दिइएका विषय प्रस्ट पारिनुपर्ने बताउनुभएको हो । सांसद गोकर्ण विष्टले आधारभूत स्वास्थ्य सेवा महँगो भएकाले एउटा परिवारलाई कम्तीमा रु तीन लाखबराबरको स्वास्थ्य बीमा गरिनुपर्ने आवश्यकता औँल्यउनुभयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सबै कुरा राखे पनि केही पनि प्राथमिकतामा नपरेको उहाँको भनाइ थियो ।
सांसद उपेन्द्र यादवले वित्तीय सङ्घीयतालाई कार्यान्वयन गर्ने अवसरका रुपमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई उपयोग गरिनुपर्ने बताउनुभयो । उत्पादन वृद्धिका लागि समाजवादउन्मुख अर्थतन्त्रको विकास गरिनुपर्ने, आर्थिक विकासका लागि वित्तीय सङ्घीयतामै जानुपर्ने, उत्पादन वृद्धिका लागि बन्द भएका उद्योग पुनःस्थापना गरिनुपर्ने र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । सांसद अमरबहादुर थापाले कृषि, विद्युत्, जल, जमिन र जङ्गललाई दिगो उपयोग गरेर आर्थिक समस्या समाधानमा योगदान गर्न सकिने बताउनुभयो । (रासस)




