चितवन/नेपाल भेटेरिनरी एशोसियसनले विविध कार्यक्रम गरी भेटेनरी दिवस मनाएको छ । एसोसिएसनले भेटेरिनरी पेशामा विविधता, समता र समावेशिताको प्रवर्द्धन भन्ने मूल नाराका साथ दिवस मनाएको हो । दिवसको अवसरमा नेपाल भेटेरिनरी एशोसियसन तथा भेटेरिनरी एशोसियसन बागमती प्रदेशको संयुक्त आयोजनामा भरतपुरमा पशु चिकित्सक, प्राविधिक, व्यवसायी तथा विद्यार्थीहरुबीच छलफल कार्यक्रम भएको थियो । कार्यक्रममा भेटेरिनरी एशोसियशनका केन्द्रीय अध्यक्ष डा. शितलकाजी श्रेष्ठले स्वास्थ्यको दृष्टिकोणको बिषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा पशु चिकित्सा परिषदका उपाध्यक्ष सह प्रा. डा. सुबिर सिंह, कृषि तथा वन विज्ञान विश्व विद्यालयका रजिस्ट्रार प्रा. डा. शारादा थपलिया, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, तथा निजी क्षेत्रमा लामो समयसम्म अनुभव संगाल्नुभएका डा. दिनेश गौतमलगायतले भेटेरिनरी पेशामा थप विविधतासँगै थप परिष्कृत हुन आवश्यक रहेको औंल्याउनुभएको थियो । यस्तै उहाँहरुले बदलिँदो परिवेशमा पाठ्यक्रम विकास, सरकारी तथा रोग रोकथाम तथा नियन्त्रणमा निजि क्षेत्रमा कार्यरत भेटेरिनरीयनहरुको संयुक्त प्रयास जस्ता बिषयमा छलफल गर्नुभएको थियो । कार्यक्रम नेपाल भेटेरिनरी एशोसियसन, बागमती प्रदेशका अध्यक्ष डा. दीपक तिवारीको अध्यक्षता सम्पन्न भएको हो ।




