गैंडाकोट/पल्लव साहित्य प्रतिष्ठानले पल्लव कुम्भ आयोजना गरेको छ । संस्थापक अध्यक्ष गोर्खे साइँलोको अध्यक्षता र प्राडा मोहनप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा कार्यक्रम आयोजना गरिएको हो । शनिबार आयोजित कार्यक्रममा मेचीदेखि महाकलीसम्मका १४५ जना मानक स्रष्टाहरूको उपस्थिति रहेको अध्यक्ष साइँलोले जानकारी दिए ।
कार्यक्रममा विभिन्न स्रस्टालाई पल्लव राष्ट्रिय साहित्य सम्मान-२०७८/७९ प्रदान गरिएको थियो भने पुस्तक विमोचन तथा रचना वाचन पनि गरिएको थियो । सम्मानित एवम् पुरस्कृत स्रष्टाहरूमा डा. लक्ष्मणप्रसाद गौतम छन् । गौतमलाई बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान-२०७९ प्रदान गरिएको हो । त्यसैगरी काठमाडौंका स्रस्टा डा. दामोदर पुडासैनी किशोरलाई शेषनाथ लामिछाने स्मृति बालसाहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान– २०७९ प्रदान गरियो । बिराटनगरका स्रस्टा चूडामणि नेपाललाई केदारनाथ रिजाल, गुणकुमारी रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान-२०७९ बाट सम्मान गरिएको छ । देवघाटधामका स्रस्टा कृष्णशरण पौडेल उपाध्यायलाई युसुफदिन-हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०७८, पोखराका स्रस्टा शिव त्रिपाठीलाई युसुफदिन-हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०७९, सुनसरीकी स्रस्टा विमला पोख्रेललाई मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान – २०७८, चितवनका स्रस्टा होमनाथ घिमिरेलाई मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान- २०७९, चितवनका स्रस्टा गोकर्ण मल्ललाई मीना-रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान – २०७९, नुवाकोटका स्रस्टा रूपा थापालाई काजीमान तथा नन्दकुमारी/ शान्तकुमारी श्रेष्ठ रत्न पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान-२०७८/७९ प्रदान गरिएको छ । कोरोना भाइरसको महामारीले सिर्जना भएको असहज परिस्थितिका कारण अघिल्लो वर्ष कार्यक्रम गर्न नसकिएकोले यसपटक संयुक्तरूपमा पुरस्कार तथा सम्मान अर्पण गरिएको अध्यक्ष साइँलोले बताए ।
कार्यक्रममा विभिन्न कृतिहरू विमोचन भएका छन् । कवि गोकर्ण मल्लको `सिउँडीको फूल´ कवितासङ्ग्रह, कवि होमनाथ घिमिरेको `गोरेटो´ छन्द कवितासङ्ग्रह र `जिन्दगीका तरङ्गहरू´ छन्द/बहरका गजलसङ्ग्रह, मुक्तककार कल्पना अधिकारी भण्डारीको `परिकल्पना´ मुक्तकसङ्ग्रह, कवि विमला पोख्रेलको `व्यथा र विमलता´ छन्द कवितासङ्ग्रह, उपन्यासकार चिरञ्जीवी दाहाल `ग्रिष्मजा´ उपन्यास, कवि रामचन्द्र आरसी अज्ञातको `सन्ताप´ खण्डकाव्यलाई कार्यक्रममा विमोचन गरिएको छ । त्यसैगरी गोर्खे साइँलोसहितको सम्पादनमा प्रकाशित राष्ट्रिय बहरमाला संयुक्त गजलसङ्ग्रह-२ को पनि विमोचन गरिएको छ । कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका अतिथि स्रष्टाहरूले रचना वाचन पनि गरेका थिए ।




