चितवन/स्वतन्त्र उमेदवार प्रा. डा. मोजराज बगालेले चितवन–२ मा उपनिर्वाचन गर्न बाध्य पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको ढुकुटी सिध्याउन खोजेको आरोप लगाएका छन् । बगालेले रवि लामिछानेको नैतिकताका कारण चितवनमा उपनिर्वाचन हुन लागेको भन्दै त्यसैको विरूद्ध आफूले स्वतन्त्र उमेदवारी दिएको शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् ।

‘हिजो मैले पनि रवि लामिछानेलाई मतदान गरेर चुनाव जिताएको हुँ,’ उनले भने, ‘तर, ‘उहाँले चितवनवासीलाई भ्रम छर्ने काम गर्नुभएको रहेछ भन्ने प्रष्ट देखियो । र, मैले उनको अभियानभन्दा बाहिर रहेर स्वतन्त्र उमेदवारी दिएको हुँ ।’ अब चितवन–२ का जनताले आफूलाई जिताउने उनको दाबी छ । यो उपनिर्वाचनमा कुनै दलले जितेर पनि अर्थ नरहेको हुँदा स्वतन्त्र उमेदवारले जित्दा देशलाई हित हुने उनको भनाइ छ ।
‘यो उपनिर्वाचनमा कुनै दलले जितेर अर्थ छैन । किनकि राजनैतिक दलले जितेर गयो भने त्यो पार्टीको बिचार र सिद्धान्त बोकेर यसअघि नै संसद गइसकेका छन्,’ उनले भने, ‘म गएँ भने विशुद्ध नयाँ बिचार र योजना संसद पुग्नेछ ।’ देशको आर्थिक मेरूदण्डलाई बलियो बनाउन पनि पढेलेखेका र सक्षम उमेदवारको खाँचो परेको उनले बताए । स्वतन्त्र उमेदवार प्रा. डा. मोजराज बगालेलेआफुले जित्ने बताए ।




