वेसीशहर/लमजुङको सदरमुकाम समेत रहेको वेसीशहर नगरपालिकामा बसाइसराई गरी आउने भन्दा जानेको संख्या बढ्दो छ । शहरमा विभिन्न खालको सेवा सुविधा सहजै प्राप्त हुने भएकाले नगरक्षेत्रमा विभिन्न ग्रामिण भेगबाट बसाइसरी आउने क्रम जारी रहेपनि तुलनात्मक रुपमा पालिकाबाट अन्यत्र बसाई सरी जानेको संख्या धेरै रहेको छ ।
बेसीशहर नगरपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को व्यत्तिगत घटना दर्ता विवरण अनुसार पालिकामा बसाई सरी आउने भन्दा जानेको सख्या बढी देखिएको हो । चालु आर्थिक वर्षको दोस्रो चौमासिक तथा फागुन मसान्त सम्म नगरपालिकाभित्र वसाई सरी आउने ५७ दर्ता संख्या रहेको छ जसमा बसाई सरी आउने सदस्य संख्या २ सय २७ रहेको छ । सोही अवधिमा वसाई सरी जानेको दर्ता संख्या ७९ र सदस्य संख्या २ सय ७९ रहेको रहेको बेसीशहर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख सुनिल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको ११ वटा वडाहरुमध्ये सवैभन्दा धरै वडा नंं ११ बाट वसाई सरी जानको संख्या रहेको छ भने पालिका भित्रै वडा नंं ७ मा बसाई सरी आउने संख्या सवै भन्दा वढी देखिएको छ ।
पालिका भित्रको ग्रामिण र सहज रुपमा शिक्षा स्वास्थ्य र यातायातको सुविधा नभएका कारणपनि वडा नं. ११ बाट वसाई सरी जानेको संख्या धेरै रहको र वडा नंं ७ मुख्य बजार क्षेत्र भएकाले पनि बसाई सरेर आउनेको संख्या बढी रहेको पञ्जिकरण शाखा प्रमुख घिमिरेले वताउनुभयो । नगरपालिकाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा पनि पालिकाबाट वसाई सरी अन्यत्र जानेको संख्या धेरै रहेको छ । गत वर्ष वसाई सरी जानको दर्ता संख्या १ सय १६ र सदस्य संख्या ४ सय ३४ रहेको छ भने पालिकामा बसाई सरी आउने दर्ता संख्या ७५ र परिवार संख्या २ सय ७२ रहेको छ ।
पालिका भित्रै वजार क्षेत्रमा नगरपालिकाबाट अन्यत्र ठूला वजार तथा शहरी क्षेत्रमा सेवा सुविधा खोज्नकै लागि वसाई सरी जानेको संख्या बढ्दो रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको पञ्जिकरण शाखामा चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्तसम्म ५ सय ४९ जनाको जन्मदर्ता, १ सय ९९ मृृत्युदर्ता, २ सय ४८ विवाह दर्ता, ३५ सम्वन्धविच्छेद गरी १ हजार १ सय ६७ व्यक्तिगत घटना दर्ता भएको छ ।




