माडीमा सञ्चालित मेलमिलापसम्बन्धि आठ दिने ४८ घण्टे तालिम सकिएको छ। फागुन ८ गतेदेखि सञ्चालन भएको आठ दिने तालिम सोमबार सकिएको हो। तालिममा सुशासन तथा विकास प्रतिष्ठानका केन्द्रीय प्रशिक्षक कविता अधिकारी, वन्धुराज पौडेलले प्रशिक्षण दिएका थिए । तालिममा २३ जना प्रशिक्षार्थी सहभागी थिए।
कार्यक्रमको समापन गर्दै माडी नगरपालिकाकी मेयर ताराकुमारी काजीमहतोले तालिमबाट समाजमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाइन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले स्थानीयस्तरमा मेलमिलापसम्बन्धि तालिमको आवश्यकता भइरहँदा आठ दिने तालिमले स्थानीय पालिकाको विकासमा थप टेवा पुग्ने बताए। माडी नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक खेमप्रसाद महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सदस्य बाबुराम सुवेदीको समेत उपस्थिति थियो।




