भक्तपुर/भक्तपुरमा कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीमा तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ । कुखुरामा बर्डफ्लु देखिएपछि तीन वटा फार्मबाट ११ हजारभन्दा धेरै कुखुरा र चल्ला नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।
विभागका अनुसार चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको हो । तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरिएको छ । फार्ममा पालिएका कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लु भेटिएको पशु विभागका पशु चिकित्सक डा। श्रीजा वाग्लेले जानकारी दिनुभयो ।




