भरतपुर/चितवन उद्योग संघको आयोजनामा नेपाल सरकार शहरी विकास मन्त्री माननीय विक्रम पाण्डेलाई बधाई ज्ञापन एवम् औद्योगिक प्रबद्र्धनका विषयमा छलफल कार्यक्रम सम्पन्न गरियो । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्यसँगै संघले अघि सारेका महत्वपूर्ण परियोजना र संघका गतिविधिहरुका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष एवम् प्रदर्शनी केन्द्र निर्माणका अभियान्ता कृष्ण प्रसाद अधिकारीले चितवन प्रदर्शनी केन्द्रको शुरुवाती समयदेखि हालसम्म भए गरेका कार्यप्रगतिको बारेमा जानकारी गराउनुभएको थियो । पूर्व अध्यक्ष अधिकारीले वर्तमान समयमा बैंकहरुबाट उद्योग, व्यवसायमा लगाइएको महङ्गो व्याजदरका कारण कतिपय उद्योगहरु बन्द हुने अवस्थामा आएको हुँदा राज्यले उद्योगलाई टिकाई देशको आर्थिक अर्थतन्त्रलाई जोगाई राख्न अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा माननीय मन्त्रीलाई संघबाट बधाई पत्रद्वारा सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका विशिष्ट व्यक्तित्व नेपाल सरकार, शहरी विकास मन्त्री माननीय विक्रम पाण्डेले आफूलाई प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने चितवनवासीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । सो अवसरमा मन्त्री पाण्डेले आफू जनताको सेवक भएको र सधैं जनताहरुको सेवा गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले आफ्नो मन्त्रालय र सम्बन्धित अन्य विभागीय मन्त्रालयहरुसँग सहकार्य गरी उद्योगीहरुका औद्योगिक प्रबद्र्धनात्मक कार्यका लागि आएका माग र उद्योगीहरुले व्यहोर्नु परेका जायज समस्या समाधानका लागि पूर्ण सहयोग रहने समेत बताउनुभयो ।
Advertisement




