चितवन/चितवनको नारायणी नदीमा क्रुजसिप सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका १२ काभ्रेघाटमा राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनी दुई वर्ष अघि निर्माण सम्पन्न गरेको क्रुजसिप आज आइतबार बाट सञ्चालनमा आएको हो । कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ ।
सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालन गरिएको कम्पनीका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले जानकारी दिनुभयो । तीन तलाको क्रुजसिपमा कुल एक सय ८० जना सवार गर्न सक्नेछन् । क्रुजसिपमा यात्रा गर्ने यात्रुहरुको रू १० लाख बराबरको बीमा गरिएको छ । क्रुजसिपमा सवार हुनका लागि टिकट रू सात सय, ब्रेकफास्ट क्रुजिङको रू एक हजार पाँच सय, लञ्च क्रुजिङ रू दुई हजार र डिनर क्रुजिङ दुई हजार पाँच सय तेकिएको ढुङ्गेलले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन छ । एक पटकमा यात्रुले करिब एक घण्टा नारायणी नदीमा क्रुजको मज्जा लिन पाउनेछन् । क्रुजसिपमा विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधिहरु गर्न पाइने उहाँले बताउनु भयो । क्रुजसिप निर्माणमा रु १५ करोड बढी खर्च भएको कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार क्रुज सञ्चालनका लागि ४० किलोमिटरसम्मको अनुमति लिइएको छ । रुट पहिचान गरेर सोही अनुसार यात्रा गराइने उहाँले जानकारी दिनुभयो । क्रुजसिपभित्र रेष्टुराँ, कार्यक्रमका लागि स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ ।




