चितवन/जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या देखिएको छ । एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ । कुपोषण हुनेमा महिलाको सङ्ख्या धेरै रहेको एएचएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरि सापकोटाले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमा पिछडा वर्गका समुदायका बढी सङ्ख्यामा कुपोषण समस्या देखिएको छ । भरतपुर महानगरपालिका, माडी, रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा रहेका सङ्क्रमितमा कुपोषणको समस्या देखापरेको हो । परिवारका सदस्यमा सङ्क्रमण हुँदा आयआर्जनमा समस्या परेकाले कुपोषण देखिने गरेको उहाँको भनाइ छ ।
कुपोषणका कारण एचआइभी एड्स सङ्क्रमितमा विभिन्न किसिमका समसया देखिने गरेको उहाँले बतानुभयो । रोगसँग लड्ने क्षमताको विकास नभएपछि शरीरमा भाइरसको सङ्ख्या बढ्ने, रक्तअल्पता हुने, दैनिक आर्यआर्जनमा समस्या हुने, क्षयरोग, झाडापखला, घाउ खटिरा हुने, ज्वरो आउने, निमोनिया हुनेजस्ता समस्या भइरहने उहाँले बतानुभयो ।
जसका कारण मानव स्वास्थ्यमा नियमित समस्या देखिने गरेको उहाँको भनाइ छ । एचआइभी एड्स सङ्क्रमितमा कुपोषणको समस्या नहोस् भनेर कार्यालयले उनीहरूलाई जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ भने स्थानीय सरकारसँग समन्वय गरेर पोषणयुक्त खानाका लागि सहयोग गरेको छ ।
अहिले जिल्लामा एक हजार एक सय १० जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरूले नियमित औषधि सेवन गर्ने गरेको उनले जानकारी दिए । सापकोटाका अनुसार सन् २०२२ मा जिल्लामा एक सय १४ जना नयाँ सङ्क्रमित थपिएका छन् । जसमध्ये ३४ भरतपुर अस्पतालमा र ८० जना जिल्लामा रहेका विभिन्न सङ्घसंस्थाको सक्रियतामा पत्ता लागेका हुन् । यस वर्ष सेन्टरबाट एक सय ४५ नयाँ बिरामीले औषधि सेवन गर्न थालेका छन् । जसमध्ये ३१ जना जिल्ला बाहिरबाट यहाँ आएका हुन् । यस्तै यस वर्ष जिल्ला छाडेर स्थानान्तरण हुनेको सङ्ख्या ४६ जना रहेको उहाँले बतानुभयो।




